सप्तरीमा तीन वर्षअघिको चर्चित गाँजा मुद्दाका फरार प्रतिवादी पक्राउ

राजविराज– सप्तरी प्रहरीले तीन वर्षअघिको गाँजा मुद्दामा फरार एक जना कुख्यात गाँजा कारोवारीलाई पक्राउ गरेको छ।

लागू औषध गाँजा सम्बन्धी मुद्दामा फरार रहेका हनुमाननगर कंकालिनी नपा–१ का ३५ वर्षीय जोगानन्द मण्डल उर्फ बुधनलाई प्रहरीले पक्राउ गरेको हो। उनी इलाका प्रहरी कार्यालय भारदह अगाडिको ट्राफिक चेकिङबाट पक्राउ परेका हुन।

प्रहरीका अनुसार असार १ गते राति ९ बजे प्रहरीको चेकिङ प्वाईण्टबाट मण्डललाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी जितेन्द्रकुमार वस्नेतका अनुसार उनी १४ पुस ०७९ मा फेला परेको झण्डै ८ सय किलो गाँजाका फरार प्रतिवादी हुन।

त्यो दिन प्रहरीलाई ‘बुधनको समुहले हनुमाननगर कंकालिनी नगरपालिका– १, कोशी ब्यारेजको गोलघरदेखि ५ सय मित्तर उत्तर पूर्व, कोशीको भंगालोको पूर्व टापुमा बालुवा मुनी गाँजा लुकाएको’ सूचना प्राप्त भएको थियो।

सोही सूचनाका आधारमा खटिएको प्रहरीले साँझ करिव साढे ७ बजे बालुवा खोतलेर खोजतलास गर्दा २७ बोरा (८१० किलोग्राम) गाँजा बरामद भएको थियो। त्यसपछि उनी फरार थिए। मण्डललाई जिल्ला अदालतमा उपस्थित गराई अनुशन्धानका लागि ७ दिनको म्याद लिईएको प्रहरीले जनाएको छ।

उनीसँग सम्बन्धित अन्य मुद्दाको पनि अनुसन्धान जारी रहेको एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *