काठमाडौँमा मेडिकलको आडमा हतियार कारोबार गर्ने महोत्तरीका राम दाजुभाई पक्राउ

राजधानी— काठमाडौँको पिंगलास्थानस्थित तिलगंगा आँखा अस्पताल नजिकै ‘गान्धिर मेडिकल’ नामको औषधी पसल सञ्चालन गरी हतियारको कारोवार गर्दै आएका महोत्तरीका राम दाजुभाइलाई प्रहरीले पक्राउ गरेको छ।

महोत्तरी घर भएका २९ वर्षीय सुरेशकुमार राम र २५ वर्षीय दिनेशकुमार रामलाई गौशाला प्रहरी वृत्तबाट खटिएको टोलीले असार १६ गते पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरूले सञ्चालन गरेको औषधी पसल पनि औषधी व्यवस्था विभागमा दर्ता नभएको पाइएको छ।

पसल पछाडिको डेरामा किटक्याटको बट्टाभित्र लुकाएर राखेको अवस्थामा एक थान चिनियाँ पेस्तोल र दुई थान म्यागजिन बरामद भएको प्रहरीले जनाएको छ। अर्को मानिसलाई बेच्ने उद्देश्यले उनीहरूले पेस्तोल खाटमुनी लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो।

प्रहरीका अनुसार पेस्तोल भाइ दिनेशले भारतबाट ल्याएको आशङ्का छ। उनी एक महिनाअघि भारत गएर फर्केको खुलेको छ। तर, उनीहरूले भने गान्धिर यादवसँग मिलेर मेडिकल सञ्चालन गरेको र पेस्तोल उनैले ल्याएको हुनसक्ने प्रहरीलाई बताएका छन्। गान्धिर अहिले जापानमा छन्। जापान जानुअघि सँगै बस्ने गान्धिरलाई दोष लगाएर उनीहरू पन्छिन खोलेका छन्।

फार्मेसीको आवरणमा उनीहरूले हतियार ‘किनबेच’ को काम गर्ने गरेको अनुसन्धान अधिकृतहरू आशङ्का गर्छन्। अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘उनीहरूले यसअघि पनि हतियारको काम गरेको हाम्रो आशङ्का छ, हामी अनुसन्धान गर्दैछौँ।’

प्रहरीले दाजुभाईको कोठाबाट रेडियो सेटसमेत बरामद गरेको छ। पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गौशाला प्रहरीले यसअघि जेठ २९ मा चाबहिलस्थित गोपीकृष्ण हल नजिकैको ‘यु डाक्टर सर्भिस’ नामको औषधी पसलमा छापा मारेर अवैध औषधी र सञ्चालकलाई पक्राउ गरेको थियो। पसल दर्ता बिना नै सञ्चालन गरेको भेटिएको थियो। त्यसबेला पक्राउ परेकी आरती जैसवाल सहित दुई जनालाई औषधी व्यवस्था विभागले कारबाही नै नगरी रिहा गरेको छ।

‘यु डाक्टर सर्भिस’ मा औषधीबारे जनकारी नै नभएको व्यक्तिलाई औषधी बेच्ने जिम्मा दिएर राखेको र चिकित्सकको सिफारिस बिनाको औषधी बेचेको भेटिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट