सिरहामा पेस्तोलसहित तीन जना भारतीय नागरिक पक्राउ

लहान– सिरहाको चोहर्वा–सिरहा सडकखण्डबाट प्रहरीले नलकटुवा पेस्तोलसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेहरू भारत बिहार राज्य अन्तर्गत मधुबनी जिल्लाको बेलही पञ्चायत, पूर्वीटोल–३, छारापटी कमलाका २० वर्षीय ओमशंकर यादव, ऋषिनाथ र आकाशकुमार मण्डल हुन्।
उनीहरूलाई मंगलबार अपरान्ह नरहा गाउँपालिका–३ स्थित हिमालय सुगर मिल नजिक चोहर्वा–सिरहा सडकखण्डमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरी टोलीले बीआर ३२ एडब्लु १८१२ नम्बरको मोटरसाइकलमा सवार तीनै जनालाई रोकेर चेकजाँच गर्दा लुकाइछिपाई राखिएको नलकटुवा पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी विरेन्द्र पासवानले जानकारी दिए।
पक्राउ परेकाहरू विरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई बुधबार जिल्ला अदालत सिरहा पेस गरेर म्याद लिई थप अनुसन्धान अगाडि बढाइने डीएसपी पासवानले बताए।