सोलुखुम्बुमा बाढीले पाँच घर बगायो, ६ घर आंशिक क्षति

विराटनगर– सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आइतबार राति आएको बाढीले पाँच घर बगाएको छ। गत वर्षकै बाढीले क्षतविक्षत बनेका ती घरहरू यसपटक आएको सामान्य बाढीले पूर्ण रूपमा बगाएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका इन्स्पेक्टर विकास राईका अनुसार मानवीय क्षति भने भएको छैन। ‘गत वर्षको बाढीमा घर क्षति भएपछि प्रभावित परिवारहरू अन्यत्र बस्दै आएका थिए। आइतबार राति बाढीले घरको जग बगाउँदा पाँच घर बगाएको हो,’ उनले भने, ‘तर खोलामा ठूलो बाढी आएको भने होइन।’
सोमबार गाउँपालिकाले विज्ञप्ति जारी गर्दै पाँचवटा घर बगाउनुका साथै थप ६ घर आंशिक क्षतिग्रस्त भएको जनाएको छ। प्रशासकीय अधिकृत सुजनकुमार बुढाथोकीले जारी गरेको विज्ञप्तिमा बाढीका कारण विद्युत् प्रसारण र सञ्चार सेवा समेत अवरुद्ध भएको उल्लेख छ।
थामेखोलामा गत वर्ष आएको भीषण बाढीले ठूलो भौतिक तथा मानवीय क्षति पु¥याएको थियो। यसपटक सामान्य स्तरको बाढी भए पनि स्थानीय संरचनामा थप क्षति पुगेको छ।