महोत्तरीमा दबाबमा पारेर छात्रासँग यौन सम्वन्ध राख्ने शिक्षक पक्राउ, घटना ढाकछोपको प्रयास

बर्दिबास– महोत्तरीको बर्दिबास नगरपालिका–११ खैरमारामा संचालित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा अध्यापनरत शिक्षक वसन्तप्रसाद यादवलाई आफ्नै छात्रामाथि दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार विद्यार्थी र अभिभावकले दिएको जाहेरीका आधारमा यादवलाई मंगलबार पक्राउ गरि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको छ। इलाका प्रहरी कार्यालय बर्दिबासमार्फत अदालतमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
विद्यालयमा अध्ययनरत विद्यार्थीका अनुसार महोत्तरीकै सोनमा गाउँपालिकाका शिक्षक यादवले परीक्षामा पास गरिदिने प्रलोभनमा पारी छात्राहरूमाथि जबर्जस्ती शारीरिक सम्बन्ध बनाउँदै आएका थिए। उनी परीक्षा शाखा र आईटी विभागमा समेत कार्यरत थिए।
यसबीचमा शिक्षक यादवले एक छात्रालाई बारम्बार फोन गर्ने तथा सामाजिक सञ्जाल मार्फत अश्लील अडीओ÷भीडीओ पठाएर तनाव दिईरहेका थिए। छात्राको मोवाईलबाट उक्त सामग्रीहरु लिक भएपछि घट्ना सार्वजनिक भएको हो।
विद्यार्थीले उठाएको गुनासो र उपलब्ध प्रमाण गम्भीर भए पनि अभिभावक र शिक्षालय प्रशासनले भने घटनालाई ढाकछोप गरी ‘अभद्र व्यवहार’ को मुद्दा मात्र चलाएको आरोप छ। स्थानीयवासीका अनुसार यसरी गम्भीर घटनालाई कमजोर मुद्दामा सीमित गरेर पीडितलाई न्यायबाट बञ्चित गर्ने प्रयास भईरहेको छ।
यसै शिक्षालयमा अध्ययनरत तीन छात्राले २०८१ पुस १५ गते सामूहिक रूपमा विषसेवन गरी आत्महत्याको प्रयास गरेका थिए। तिनमध्ये सिराहा धनगढी नगरपालिका–१० की १७ वर्षीया रिङ्कु शर्माको मृत्यु भएको थियो। तर, उक्त घटनामा पनि गहिरो अनुसन्धान नगरी प्रशासन र विद्यालयले ढाकछोप गरेको पीडित परिवारले आरोप लगाउँदै आएका छन्।
समाजका विभिन्न निकायले शिक्षक यादवविरुद्ध बलात्कारसम्बन्धी कानुनी प्रक्रिया अघि बढाउन माग गरेका छन्। अभिभावकले भने अझै डर र दबाबका कारण खुलेर बोल्न सकेका छैनन्। यो घटनाले विद्यालय भित्रै छात्रा सुरक्षित छैनन् भन्ने गम्भीर प्रश्न उठाएको छ। शैक्षिक वातावरणलाई नै कलंकित गर्ने यस्तो अपराधमा संलग्नलाई कठोर कारबाही हुनुपर्ने आवाज चर्किएको छ।