बालिका बलात्कार प्रकरण ६ लाखमा मिलापत्र गर्न गाउँमा चलखेलः पञ्चायतीबाटै पक्राउ परे आरोपित

जनकपुर– महोत्तरीको बर्दिवास नगरपालिका–१२ मा १४ वर्षीया बालिकामाथि भएको जबरजस्ती करणीको घटना एक सातापछि मात्रै सार्वजनिक भएको छ। गाउँमै मिलाउन पीडितलाई निरन्तर दबाब, धम्की र प्रलोभन दिइँदै आएको अवस्थामा प्रहरीको सक्रियतापछि आरोपित पक्राउ परेका छन्।

त्यसपछि मात्र घट्ना सार्वजनिक भएको छ भने पीडित पक्ष प्रहरीसमक्ष पुगेको छ। प्रहरीले घट्ना मिलापत्र गराउन गाउँमा छलफल चलिरहेकै अवस्थामा आरोपितलाई पक्राउ गरेको हो। पीडितका अनुसार गत शुक्रबार विद्यालयबाट घर फर्किएर किताब थन्क्याएपछि खेतमा काम गर्न गएका बेला बालिका बलात्कारको शिकार भएकी थिईन।

छिमेकी राजेन्द्र महतोले ‘म तिमीलाई माया गर्छु, पैसा दिन्छु’ भन्दै बलात्कार गरेका थिए। त्यस क्रममा बालिका राईकराई गरेको आवाज सुनेपछि मल लिएर खेतमा पुगेकी आमाले घट्ना थाहा पाईन। तर, उनी पुग्दा महतो भागिसकेका थिए। त्यसपछि उनले छोरीलाई घर पु¥याईन। सोही राति आरोपित पक्षका मानिसहरू घरमै आएर ‘घटना बाहिर लग्यो भने सबैको इज्जत जान्छ’ भन्दै नबोल्न दबाब दिएको र हल्ला गरे ज्यान मारिदिने धम्कीसमेत दिएको उनले आरोप लगाइन्।

पीडित पक्षका अनुसार जाहेरी दिन प्रहरीकहाँ जाने प्रयास गर्दा पटक–पटक डर र धम्की देखाइयो। कहिले ज्यान लिने धम्की, कहिले पैसा दिने प्रलोभन दिँदै करिब ६ लाख रुपैयाँमा घटना मिलाउन खोजिएको थियो। बाटोमै छेकेर सहमतिका लागि छलफलमा बस्न बाध्य पारिएको पीडितकी आमाले बताइन्।

बिहीबार दिउँसो करिब २०–२५ जनाले घेराबन्दी गरेर सहमति गराउन दबाब दिइरहेका बेला इलाका प्रहरी कार्यालय बर्दिवासको टोलीले बर्दिवास–१२ का राजेन्द्र महतोलाई पक्राउ गरेको हो। पीडित पक्षले घटनालाई गाउँमै मिलाउन बर्दिवास–१३ का वडाध्यक्ष लक्ष्मण सिंहसहित केही भद्रभलाद्मी सक्रिय भएको आरोप पनि लगाएको छ।

उनीहरूले गाउँबाट घटना बाहिर नलैजान निरन्तर दबाब दिएको पीडितको दाबी छ। तर वडाध्यक्ष सिंहले भने आफू घटनामा संलग्न नरहेको र यसबारे कुनै जानकारी नभएको बताएका छन्। महतो पक्राउ परेका दिन आफू अन्य कामले प्रहरी कार्यालय पुगेको उनको भनाइ छ। पीडितका अनुसार वडाध्यक्षसँगै बर्दिवास–१२ स्थित जनता माध्यमिक विद्यालय डाँडाटोल विजलपुराको व्यवस्थापन समितिका पूर्वअध्यक्ष रमेश महतोसहित केही गाउँलेले पनि बारम्बार घर घेरेर दबाब दिँदै आएका थिए।

पक्राउपछि पीडितले दिएको जाहेरीका आधारमा महतोलाई शुक्रबार तीन दिनको म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। डीएसपी शैलेन्द्रकुमार भट्टका अनुसार पटक–पटक छलफलमा राखेर पीडितमाथि दबाब दिइँदै आएको सूचना पाएपछि प्रहरीले तत्काल कारबाही गर्दै पक्राउ गरेको हो।

पक्राउ परेका महतोको स्वास्थ्य परीक्षण गरिसकिएको र रिपोर्ट आएपछि थप कानुनी प्रक्रिया अघि बढाइने जनाउँदै सम्बन्धित सबै कोणबाट अनुसन्धान भइरहेको छ र दोषी देखिएमा कानुनअनुसार कडा कारबाही गरिने प्रहरीको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट