वीरगञ्जमा श्रीमतीको हत्या गरी महोत्तरीको आफ्नै घरमा लुकेका रामनारायण तीनदिनपछि पक्राउ
वीरगन्ज– पर्साको वीरगन्जमा श्रीमतीको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले घटनाको केही दिनपछि महोत्तरीबाट पक्राउ गरेको छ। मादक पदार्थ सेवनपछि घरेलु विवादका क्रममा श्रीमतीमाथि घातक आक्रमण गरी हत्या गरेको आरोप लागेका ४५ वर्षीय रामनारायण दास तत्मालाई आईतबार प्रहरीले पक्राउ गरेको हो।
महोत्तरीको रामगोपालपुर नगरपालिका–७ स्थायी घर भई पर्साको वीरगन्ज महानगरपालिका–१० बजरंग टोलमा बसोबास गर्दै आएका ४५ वर्षीय तत्मा जेठ १४ गते श्रीमती ४२ वर्षीया हलसिया कुमारीको हत्या गरेका थिए। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार हलसियामाथि फलामको हतियार प्रयोग भएको थियो।
आक्रमणबाट गम्भीर घाइते भएकी हलसियाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटना लगत्तै आरोपी तत्मा फरार भएका थिए। श्रीमतीको हत्या गरी भागेपछि उनको खोजीका लागि प्रहरी परिचालन गरिएको थियो। अनुसन्धानका क्रममा उनी महोत्तरीस्थित आफ्नै घरमा रहेको सूचना प्रहरीले पाएको थियो।
सोही सूचनापछि प्रहरी टोलीले विशेष निगरानी थालेको थियो। डीएसपी हरिबहादुर बस्नेतका अनुसार फरार आरोपीलाई आइतबार पक्राउ गरी वीरगन्ज ल्याइएको छ। उनी जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन्। उनीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाको वास्तविक कारण, हत्या हुनुअघि भएको विवाद तथा अन्य परिस्थितिबारे थप तथ्य संकलन गर्ने काम जारी छ। अनुसन्धान सम्पन्न भएपछि आवश्यक कानुनी प्रक्रिया अनुसार मुद्दा अदालतमा पेश गरिने जनाइएको छ।
