राजबिराज कारागारमा कैदीबन्दीको विद्रोहः जेलरको सरुवा माग्दै आन्दोलन, आत्मदाह प्रयासपछि सुरक्षा सतर्कता बढाइयो

राजबिराज— सप्तरीको राजबिराजस्थित जिल्ला कारागारमा कार्यरत जेलर रूपक मण्डलविरुद्ध गम्भीर आरोप लगाउँदै कैदीबन्दीहरूले थालेको आन्दोलन उग्र बनेपछि कारागार परिसर तनावग्रस्त भएको छ।

जेलरको सरुवा, आर्थिक अनियमितताको छानबिन र कारागारभित्र हुने भनिएको शोषण अन्त्यको माग गर्दै तीन दिनदेखि आन्दोलनरत कैदीबन्दीहरूमाथि प्रहरी हस्तक्षेप भएपछि केहीले शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेको स्रोतले जनाएको छ।

राजबिराज नगरपालिका–६ स्थित जिल्ला कारागारमा कैदीबन्दीहरूले चौकीदार (नाइके) नियुक्तिका नाममा आर्थिक चलखेल भएको, कैदीहरूबाट रकम असुली गरिएको तथा कारागार प्रशासनले त्यसलाई संरक्षण दिएको आरोप लगाएका छन्। उनीहरूले जेलर रूपक मण्डलको तत्काल सरुवा, घटनाको निष्पक्ष छानबिन तथा कारागारभित्रको व्यवस्थामाथि अनुसन्धानको माग गरेका छन्।

स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले कारागारभित्र बल प्रयोग गरेको स्वीकार गरिएको छ। त्यसक्रममा केही कैदीबन्दीहरूले आत्मदाहको प्रयास गरेपछि सुरक्षा निकाय थप सतर्क बनेको थियो। स्रोतका अनुसार आत्मदाहको जोखिम बढेपछि प्रहरी केहीबेर पछि हट्न बाध्य भएको थियो।

घटनापछि कारागार परिसर र आसपासको क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको बाक्लो परिचालन गरिएको छ। सुरक्षा संवेदनशीलताको कारण देखाउँदै सञ्चारकर्मीहरूलाई समेत घटनास्थलमा पुगेर प्रत्यक्ष समाचार सङ्कलन गर्न रोक लगाइएको बताइएको छ।

सप्तरीका सीडीओ रामकृष्ण थापाले कारागारको शान्ति–सुरक्षा कायम राख्न आवश्यक सामान्य बल प्रयोग गरिएको स्वीकार गरे। उनले घटनाबारे कारागार व्यवस्थापन विभागलाई जानकारी गराइसकिएको र परिस्थितिलाई सामान्य बनाउन प्रशासनले आवश्यक पहल गरिरहेको बताए।

घटनाकै बीचमा पूर्वमन्त्री उमेशकुमार यादवले सामाजिक सञ्जालमार्फत राजबिराज कारागारभित्र उठेका विषयहरूको निष्पक्ष छानबिन गर्न माग गरेका छन्। उनले कैदीबन्दीहरूलाई आत्महत्याको प्रयाससम्म पुग्ने अवस्था किन सिर्जना भयो भन्ने प्रश्न उठाउँदै कारागार प्रशासन र नाइके प्रणालीमाथि गम्भीर आरोप लगाएका छन्।

यादवले आफ्नो फेसबुक वक्तव्यमा कारागारभित्र लामो समयदेखि आर्थिक शोषण, मानसिक तथा शारीरिक यातना हुने गरेको दाबी गरेका छन्। उनले डिल्लीबजार कारागारबाट सरुवा भएर राजबिराज कारागार पुगेका एक पूर्वकैदी कामेश्वर यादवले कारागारभित्र हुने भनिएको आर्थिक असुली, चर्को मूल्यमा सामान खरिद गर्नुपर्ने बाध्यता, परिवारले पठाएका सामग्रीसमेत नाइकेलाई बुझाउनुपर्ने अवस्था तथा विरोध गर्दा यातना दिने प्रचलनबारे आफूलाई जानकारी गराएको उल्लेख गरेका छन्।

पूर्वमन्त्री यादवका अनुसार ती विषयमा सम्बन्धित व्यक्तिलाई सीडीओसमक्ष समेत लगेर जानकारी गराइएको थियो। त्यसपछि सम्बन्धित कैदीमाथि थप दबाब र यातना बढेको तथा अन्ततः उनलाई पुनः डिल्लीबजार कारागार सरुवा गरिएको दाबी उनले गरेका छन्। यद्यपि यादवले सार्वजनिक गरेका आरोपहरूबारे कारागार प्रशासनको औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

राजबिराज कारागार यसअघि पनि उपचारको अभाव, व्यवस्थापन कमजोरी तथा कैदीबन्दीको अवस्थासम्बन्धी विवादका कारण चर्चामा आईरहन्छ। पछिल्लो घटनाले कारागार प्रशासन, कैदीबन्दीको अधिकार र जेल व्यवस्थापन तथा स्थानीय प्रशासनको भूमिकामाथि पुनः प्रश्न उठाएको छ।

जिल्ला प्रशासन कार्यालय, कारागार व्यवस्थापन विभाग र सुरक्षा निकायले घटनाबारे थप विवरण सङ्कलन गरिरहेका छन्। आन्दोलनरत कैदीबन्दीका माग, कारागार प्रशासनमाथि लगाइएका आरोप तथा आत्मदाह प्रयासको घटनाबारे आधिकारिक छानबिन सुरु भए÷नभएको विषयमा भने सम्बन्धित निकायले विस्तृत जानकारी सार्वजनिक गरेका छैनन्।

कारागारभित्रको अवस्था सामान्य बनाउने प्रयास जारी रहेको प्रशासनले जनाएको छ। हालसम्म कुनै मानवीय क्षति भएको आधिकारिक पुष्टि भएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट