मट्टीतेलको गन्धले खुलाएको सप्तरी जेलभित्रको ‘साम्राज्य’: किन आत्मदाहको बाटो रोज्न बाध्य भए कैदीबन्दी ?

राजविराज– शनिबार बिहान करिब सात बजेतिर सप्तरीको राजविराजस्थित जिल्ला कारागारभित्र अचानक हड्कम्प मच्चियो। तीन दिनदेखि आन्दोलनरत कैदीबन्दीहरूलाई नियन्त्रण गर्न प्रहरी कारागारभित्र प्रवेश गरेपछि केही कैदीबन्दीले खाना पकाउन प्रयोग हुने स्टोभको मट्टीतेल आफ्नै शरीरमा खन्याए। प्रहरी केही कदम अगाडि बढेको थियो, तर आत्मदाहको चेतावनीसँगै पछि हट्न बाध्य बन्यो।

बाहिरबाट हेर्दा यो एउटा आकस्मिक विरोधजस्तो देखिन्थ्यो, तर कारागारभित्रका कैदीबन्दी, पूर्वकैदी, राजनीतिक व्यक्तित्व र विभिन्न स्रोतहरूले उठाइरहेका प्रश्नहरू केलाउँदा यो घटना केवल एउटा आन्दोलन होइन, वर्षौंदेखि थुप्रिँदै आएको असन्तोषको विस्फोट भएको दाबी गर्न थालिएको छ।

जिल्ला कारागारमा जेलर रुपक मण्डलको सरुवा र कारागारभित्र रहेको भनिएको आर्थिक चलखेलको छानबिन माग गर्दै तीन दिनदेखि आन्दोलन चलिरहेको थियो। आन्दोलनको केन्द्रमा रहेको विषय हो— चौकीदार नियुक्ति। कारागार स्रोतहरूका अनुसार हाल चौकीदार चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ र त्यसलाई लिएर लाखौं रुपैयाँको आर्थिक चलखेल भएको आरोप लागेको छ।

स्रोतका अनुसार कारागारभित्र चौकीदार बन्न इच्छुक व्यक्तिहरूसँग रकम मागिएको र यस प्रक्रियामा करिब ४० लाख रुपैयाँसम्मको चलखेल भइसकेको दाबी गरिएको छ। यद्यपि यो आरोपको स्वतन्त्र पुष्टि हुन सकेको छैन। आरोपअनुसार जेलर मण्डलले विभिन्न व्यक्तिसँग ‘चौकीदार बनाइदिने’ आश्वासन दिँदै रकम असुली गरिरहेका थिए।

हाल कारागारमा ए ब्लक, बी ब्लक र महिला ब्लक गरी तीन ब्लक छन्। ए ब्लकका मूल नाइके सप्तरीका कामेश्वर यादव, बी ब्लकका मूल नाइके सिरहाका रामरिझन यादव र महिला ब्लककी मूल नाइकी लिलादेवी यादव छन। विवाद विशेषगरी बी ब्लकबाट सुरु भएको हो। जहाँ अहिले १६६ कैदीबन्दी छन्।

स्रोतहरूका अनुसार चौकीदार नियुक्तिका लागि ए ब्लकका नाईके कामेश्वर र बि ब्लकका नाईके रामरिझन यादवसँग लाखौं रुपैयाँ मागिएको थियो। तर त्यसबीच बि ब्लकमै अर्को समूहले रामरिझनभन्दा बढी रकम प्रस्ताव गर्‍यो। जसले स्थिति जटिल बनायो। अर्को समूहले २५ लाख रुपैयाँसम्म बुझाउन तयार भएको भनाइ स्रोतहरूको छ। त्यसपछि दुई समूहबीच विवाद चर्किएको र रामरिझनमाथि कुटपिटसमेत भएको स्रोतको दाबी छ। कुटपिटपछि रामरिझन बी ब्लकबाट ए ब्लकमा सारिएका छन्।

यही घटनाले कारागारभित्रको असन्तोषलाई खुला आन्दोलनमा रूपान्तरण गरेको थियो। आन्दोलन तीन दिनसम्म जारी रहँदा स्थानीय प्रशासनले हस्तक्षेप गर्ने नीति लियो। जसले स्थिति झन् तनावपूर्ण बनेको थियो।

शनिवार विहानको घटनापछि अहिले भने स्थिति सामान्य रहेको कारागार प्रशासनले जनाएको छ। प्रहरी फिर्ता भइसकेको र कैदीबन्दीहरू आन्तरिक छलफलमा रहेको जानकारी प्रशासनले दिएको छ। जेलर रुपक मण्डलले तीन दिनदेखि आन्दोलन भइरहेको स्वीकार गरे पनि आन्दोलनको कारणबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन्। ‘आन्तरिक विवाद होला,’ उनले भनेका छन्। आन्दोलन तीन दिनदेखि चलिरहेको अवस्थामा कारण नै थाहा नभएको उनको भनाइले भने थप प्रश्न जन्माएको छ।

तर चौकीदार नियुक्तिको विवाद अहिले सतहमात्र देखिएको पक्ष हो। कैदीबन्दी, पूर्वकैदी तथा केही राजनीतिक व्यक्तित्वहरूले उठाएका आरोपहरू यसभन्दा धेरै गम्भीर छन्। पूर्वमन्त्री उमेशकुमार यादवले सार्वजनिक रूपमा कारागारभित्र आर्थिक शोषण, शारीरिक तथा मानसिक यातना र नाइके प्रणालीको दुरुपयोग भइरहेको आरोप लगाएका छन्। उनले डिल्लीबजार कारागारबाट राजविराज सरुवा भएका आफ्ना साथी कामेश्वर यादवले कारागारभित्रको अवस्था आफूलाई विस्तारमा सुनाएको उल्लेख गरेका छन्।

यादवका अनुसार कारागारभित्र सञ्चालन हुने पसलबाट मात्रै सामान किन्नुपर्ने बाध्यता छ र त्यहाँ बजारभन्दा अत्यधिक महँगो मूल्य लिइन्छ। घरपरिवारले पठाएका सामग्रीसमेत प्रभावशाली समूह वा नाइकेलाई ‘भेटी’ चढाउनुपर्ने अवस्था रहेको आरोप लगाइएको छ। विरोध गर्ने कैदीबन्दीमाथि शारीरिक यातना हुने, प्रशासनसँग गुनासो गरे झन् दबाब र प्रतिशोध बढ्ने दाबी गरिएको छ।

यादवले कारागार प्रशासनको आलोचना गर्दै गुनासो लिएर सीडीओसम्म पुगेका व्यक्तिलाई पछि झन् बढी यातना दिइएको र अन्ततः पुनः डिल्लीबजार कारागार सरुवा गरिएको दाबी गरेका छन्। उनका अनुसार कारागारभित्रको वास्तविकता बाहिर ल्याउने प्रयास गर्ने व्यक्तिहरू नै निशानामा पर्ने गरेका छन्।

कारागारभित्र नाइके प्रणालीको प्रभावबारे पनि गम्भीर प्रश्न उठाइएको छ। आरोपहरूअनुसार नाइकेहरू केवल व्यवस्थापन सहयोगी नभई अनौपचारिक शक्ति केन्द्रका रूपमा स्थापित भएका छन्। कैदीबन्दीहरूबीच विभेद, आर्थिक दबाब र सुविधा वितरणमा उनीहरूको प्रभाव रहेको आरोप छ। यस्ता गतिविधिमा प्रशासनकै संरक्षण रहेको दाबी धेरैको छ।

यति मात्र होइन, जेलर मण्डलमाथि सीडीओ श्यामकृष्ण थापासँगको निकट सम्बन्धको नाम लिएर प्रभाव देखाउने गरेको आरोपसमेत लागेको छ। स्रोतहरूका अनुसार उनले कैदीबन्दीलाई ‘सीडीओ मेरो मान्छे हो, केही फरक पर्दैन’ भन्ने शैलीमा जवाफ दिने गरेको आरोप छ। जेलर मण्डलले आफू र सीडीओ विगतमा रामेछापमा सँगै कार्यरत रहेको स्वीकार गरे पनि कसैको नाम दुरुपयोग गरेको आरोप भने अस्वीकार गरेका छन्। उनका अनुसार करिव साढे ५ महिना सीडीओ थापा र मण्डल एउटै जिल्लामा कार्यरत थिए।

त्यस्तै, जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरूलाई कार्यालयमै बोलाएर भोजभतेर गरी प्रभावमा पारेको आरोप पनि मण्डलमाथि छ। उनले पनि प्रशासनका कर्मचारीसँग आफ्नो नियमित सम्पर्क रहेको कुरा स्वीकार गरेका छन्। ‘हामी चिया–नास्ता सँगै खान्छौं, कहिले उहाँहरूलाई बोलाउँछु, कहिले म आफैं कार्यालयतिर जान्छु,’ उनले भनेका छन्। तर उनले यसलाई कारागारसँग सम्बन्धित विषय बनाउन नहुने तर्क गरेका छन्।

कारागारभित्र स्वास्थ्य सेवा, उपचार सुविधा र मानवअधिकारको अवस्थाबारे पनि प्रश्न उठिरहेका छन्। विगतमा उपचार अभावकै कारण कैदीबन्दीको मृत्यु भएका घटनाहरू सार्वजनिक भइसकेका छन्। यद्यपि सम्बन्धित निकायहरूले त्यस्ता घटनाबारे औपचारिक रूपमा विस्तृत समीक्षा सार्वजनिक गरेका छैनन्।

राजबिराज कारागारको पछिल्लो घटनाले एउटा गम्भीर प्रश्न उठाएको छ— कैदीबन्दीहरू आन्दोलनबाट अगाडि बढेर आत्मदाहको प्रयाससम्म पुग्न बाध्य हुन पर्ने मूल कारण के हो ? के यो केवल चौकीदार नियुक्तिको विवाद हो, वा कारागारभित्र वर्षौंदेखि मौलाउँदै आएको भनिएको आर्थिक शोषण, शक्ति संघर्ष, प्रशासनिक अपारदर्शिता र मानवअधिकारसम्बन्धी प्रश्नहरूको विस्फोट ?

अहिलेसम्म कारागार प्रशासनले अधिकांश आरोप अस्वीकार गरेको छ। जिल्ला प्रशासन कार्यालयले पनि घटनाबारे थप विवरण सार्वजनिक गरेको छैन। तर कैदीबन्दीहरूले उठाएका आरोप, पूर्वमन्त्री उमेशकुमार यादवले सार्वजनिक रूपमा राखेका प्रश्न, आत्मदाह प्रयाससम्म पुगेको आन्दोलन र चौकीदार नियुक्तिलाई लिएर देखिएको असन्तोषले एउटा स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिनको आवश्यकता भने स्पष्ट रूपमा औंल्याएको छ।

किनकि प्रश्न अब केवल एउटा कारागारको छैन। प्रश्न राज्यको संरक्षणमा रहेको एउटा बन्द संरचनाभित्र वास्तवमै के भइरहेको छ भन्ने हो। र त्यो प्रश्नको जवाफ बिना राजबिराज कारागारको मट्टीतेलको गन्ध चाँडै हराउने देखिँदैन।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट