जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार १५ वर्षे सजायका दोषी सिरहाबाट पक्राउ
लहान— जेनजी आन्दोलनका क्रममा काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका लागूऔषध मुद्दाका एक दोषी करिब १५ महिनापछि सिरहाबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका–१४ का करिब ३८ वर्षीय झरेन्द्र ठकुरी छन्। उनलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो।
ब्राउनसुगरसम्बन्धी मुद्दामा अदालतबाट एक लाख रुपैयाँ जरिवाना र १५ वर्ष कैद सजाय सुनाइएका ठकुरी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए। उनी १५८ ग्राम ८०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेपछि मुद्दा चलाइएका व्यक्ति हुन्।
सिरहा प्रहरीका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालका अनुसार ठकुरी फरार भएपछि गाउँघरमै लुकीछिपी बस्दै आएका थिए। उनी आफ्नै क्षेत्रमा लुकेर बसेको गोप्य सूचना पाएपछि प्रहरीले खोजी तीव्र पारेको थियो।
जिल्ला प्रहरी कार्यालय सिरहा र लागूऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले उनलाई पक्राउ गरेको डीएसपी पालले जानकारी दिए। पक्राउपछि ठकुरीलाई सिरहा कारागारमा दाखिला गरिएको छ।
जेनजी आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट कैदीबन्दी फरार भएका थिए। त्यही क्रममा केन्द्रीय कारागारबाट निस्किएका ठकुरी लामो समयसम्म प्रहरीको खोजीमा थिए। अन्ततः आफ्नै गृहजिल्लामा लुकीछिपी बसिरहेको अवस्थामा उनी पक्राउ परेका हुन्।
१५ वर्ष कैद सजाय र एक लाख रुपैयाँ जरिवाना तोकिएका ठकुरी अब बाँकी सजाय भुक्तानका लागि कारागार फर्किएका छन्।
लोकप्रिय
अस्पताल उदघाटनको विवादमा माथिल्लो आदेश विनै प्रहरीले गोली चलाएको खुलासा, १५ वर्षीय बालक गम्भीर घाइते
रवि अग्रवालको नागरिकता फाइलमा आगो, अनुसन्धान अझै जारीः सर्लाही प्रशासनको जवाफले उब्जायो गम्भीर प्रश्न

