महिला मन्त्रीद्वारा कार्यकक्षमै कर्मचारीमाथि ‘लैंगिक हिंसा’ — रोइन् महिला कर्मचारी, चुपचाप छ सिंहदरबार

राजधानी/राजविराज – महिला र बालबालिकाको हकहितको संरक्षण गर्न बनाइएको मन्त्रालयमै मन्त्रीले महिला कर्मचारीमाथि दुव्र्यवहार गरेपछि घट्नाको खुलासा भएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीमाथि मन्त्रालयकै कार्यकक्षमा सार्वजनिक रूपमा महिला कर्मचारीलाई अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेको आरोप छ।
१४ जेठको दिन मन्त्रालयभित्र भईरहेको एउटा छलफलमा मन्त्री सुडीले महिला कर्मचारीलाई अवशब्द प्रयोग गरी दुर्व्यवहार गरेका हुन। मन्त्री सुँडीकै दबाबका कारण अहिलेसम्म यो घट्ना गुपचुप थियो। स्रोतका अनुसार छलफलमा मन्त्रालयकी सचिव लक्ष्मी बस्नेत, सहसचिव आभा श्रेष्ठ, उपसचिव इन्दिरा आचार्य, मन्त्रीका निजी सचिव सुरेन्द्र यादव र दुई महिला शाखा अधिकृतसहित सात जना उपस्थित थिए।
सरकारले प्रदान गर्ने पुरस्कारमा आफनो मान्छेको नाम सिफारिस नगरेको भन्दै आक्रोशित मन्त्रीले छलफलकै बीच ती कर्मचारीलाई तथानाम गाली गरेका थिए। जानकारी अनुसार मन्त्री सुडीले आफनो मान्छेको नाम फुरस्कार पाउनेको लिष्टमा राख्न नाम टिपाएका थिए। तर, सिफारिसमा परेको नाम छनोट समितिको मापदण्डमा परेन। त्यसपछि उनले ‘एक लाखको पुरस्कारको रकम घटाएर ७५ हजार बनाएको’ भन्दै कर्मचारीलाई ‘पैसा काटेर खल्तीमा हाल्ने’ भन्दै गाली गरेका थिए।
एक महिला कर्मचारीले सम्झाउन खोज्दा मन्त्री झन् आक्रोशित भए, ‘तँ जस्ताले मलाई बुझाउनु पर्दैन’ भन्दै उनले अश्लील गालीगलौज गरे। फाइल टेबलबाट उठाएर भुइँमा फ्याल्दै गालीको वर्षा गरे। अश्लिल गाली गरेपछि ती महिला कर्मचारी कार्यकक्षमै रोएकी थिईन। तर मन्त्रीको रिस थामिएन। उल्टै भने, ‘इसको बाहर निकालो, बाहर चलो आप!’
मन्त्रीका निजी सचिव यादवले भने अन्य कर्मचारीसँग कानेखुसी गर्दै ‘मेडमलाई बाथरुम गएर मुख धुन भन्नु।’ भन्दै सम्झाए। त्यसपछि सचिवसहित सबै कर्मचारी कक्षबाट बाहिरिए। तर त्यो दृश्यले मन्त्रालयभित्रको मनोविज्ञान नै हल्लाइदियो। एक कर्मचारीले भनिन्, ‘त्यो हिंसा नभए के हो? हामी मन्त्रालयमै सुरक्षित छैनौं भने गाउँका महिलाहरूले कसरी न्याय पाउलान?’
उक्त घटनापछि मन्त्रीको सचिवालय सक्रिय देखियो। कर्मचारीहरूको गतिविधि नियाल्न ‘खास मान्छे’ खटाइएको स्रोतको दाबी छ। घटना सार्वजनिक हुन नदिन मन्त्री सुडी स्वयं सक्रिय भए। मन्त्रीको दबाबमा घटना एक महिनासम्म बाहिर आउन सकेन।
‘कर्मचारी रोएको दिनभर मन्त्रालयमा देखियो। तर कार्यकक्ष घेर्ने सल्लाह हुँदै गर्दा गणतन्त्र दिवस, महिला अधिकार दिवस र शनिबार जस्ता दिन परेकाले कार्यक्रम अघि बढ्न सकेन।’–स्रोतले भन्यो। ९ असारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सामाजिक समिति बैठक बोलाइएको थियो। तर मन्त्री सुडी त्यसमा अनुपस्थित भए। काठमाडौंमै भएर पनि मन्त्री अनुपस्थित रहेपछि प्रधानमन्त्री कार्यालयमै दुव्र्यवहारबारे चर्चा भएको थियो।
कर्मचारीहरूले भने प्रधानमन्त्री वा मुख्यसचिवले बोलाए आफूहरू खुलेर सबै कुरा राख्न तयार रहेको बताएका छन्। मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्र बुढाले आफू बैठकमा नभएको तर घटनाबारे सुनेको बताए। मन्त्रीका निजी सचिव सुरेन्द्र यादव जिम्मेवारीमा नरहेको बहानामा चुप लागे। मन्त्रीको सचिवालयका एक कर्मचारीले भने ‘मन्त्रीले प्रेसरको औषधि खान छुटेकोले रिस चढेको मात्र हो’ भन्दै घटनालाई सामान्यिकरण गर्ने प्रयास गरे।
मन्त्री सुँडीको विवाद यो नै पहिलो भने होईन। उनी पटक–पटक विवादमा परेर गन्हाईसकेका छन्। ०७९ को प्रतिनिधि सभा निर्वाचनमा सप्तरी–१ बाट चुनाव लडेका सुडीले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतका दाइ जयकान्त राउतलाई पराजित गरेका थिए। त्यसअघि प्रचण्ड सरकारमा वन तथा वातावरण मन्त्री रहेका सुडी त्यो भन्दा अघि मधेश प्रदेश सरकारमा सामाजिक विकास मन्त्री थिए।
प्रदेश सरकारमा उनको कार्यकाल विवादै विवादमा बितेको थियो। साह मधेश प्रदेशका ‘फेलियर र भ्रष्टाचार आरोपी’ पूर्वमन्त्री हुन। कोरोना कालमा मधेशको मन्त्री रहेका साहमाथि स्वास्थ्य सामग्री खरिद, क्वारेन्टाइन निर्माण, कर्मचारी नियुक्ति र योजना बाँडफाँटमा ठूलो रकम अनियमितता गरेको आरोप छ।
०७४ सालमा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट सप्तरी क्षेत्र नं १ (ख) मा उम्मेदवारी दिएका साह नेपाली कांग्रेसका उम्मेदवार बद्रीनारायण महत्मान यादवलाई हराउँदै प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। उनलाई पार्टीले सामाजिक विकास मन्त्री बनाएको थियो। स्थास्थ्य क्षेत्रमा विकासको छलाङ ल्याउने गफ दिएर मन्त्रि बनेका साहलाई केही दिनपछि नै कमिसनमुखी भएको आरोप लाग्न थाल्यो।
मन्दिर निर्माणमा पनि कमिसनको खेल सुरु गरेपछि १८ असार ०७६ उनी गृहनगरमै सर्वसाधारणबाट लखेटिएका थिए। प्रदेश सरकारको १० लाख रुपैयाँको लगानीमा हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहामा सुरु भएको मन्दिरको छत ढलान र जिर्णोद्वाराको काममा कमसल सामग्री प्रयोग भएको गुनासोपछि मन्त्री साह र हनुमाननगर कंकालिनी नगरपालिकाका तत्कालिन मेयर शैलेश (मन्त्रीका छोरा) अनुगमनका लागि पुगेका थिए।
मन्दिरका पूजारी राममनोहर दासले काम गुणस्तरहीन भएको र बालुवा पनि कमसल प्रयोग गरेकाले काम रोक्न माग गरे। आफ्नै मान्छे उपभोक्ता समितिमा राखेर काम गराइरहेका मन्त्री साहले काम रोक्ने कुरा सुन्नासाथ पूजारीलाई अपशब्द प्रयोग गर्दै गाली गर्न थाले। यतिमात्रै होईन, पुजारीलाई हान्न इँटा उचालेपछि स्थानीयवासीले उनलाई लखेटेका थिए।
पार्टीकै नेताबाट असन्तुष्टि र सर्वसाधारणबाट पनि लखेटिन थालेपछि नेतृत्वले उनलाई मन्त्रीबाट फिर्ता बोलाउने तयारी गरिरहेकै बेला तत्कालीन समाजवादी पार्टी र राजपाबीच एकता भयो। तर, एकता धेरै दिन टिक्न सकेन। तत्कालीन राजपाका नेताले जसपा छाडेर लोसपा गठन गरे। मन्त्री पदको लोभमा साहले सरकारको नेतृत्व गरेको जसपामै वस्ने निधो गरे। पुरानो पार्टीमा फर्केपछि मन्त्री पद गुम्ने डरले जसपा रोजेका साहलाई पार्टीमा टिकाईराख्न मन्त्रिमा पनि टिकाई राख्नुपर्ने बाध्यता उपेन्द्रलाई पर्यो। त्यसैले उनले सामाजिक विकास मन्त्रालयमा निरन्तरता पाए।
जसपामासाहको प्रभाव बलियो थियो। ०७९ सालको प्रतिनिधी सभामा निर्वाचनमा एमालेसँग तालमेल गरेको जसपाको भागमा उम्मेदवारी दिने भागवण्डा हुँदा सप्तरी क्षेत्र नम्बर १ पनि पर्यो। त्यहाँ उम्मेदवार बनेका साहले प्रदेशबाट संघमा छलाङ मारे।
गठवन्धन बनाउने र भत्काउने खेलमा जसपा सत्तापक्ष हुँदा साह प्रचण्ड सरकारमा वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पुगे। अशोक राईले उपेन्द्रको पार्टी फुटाएपछि राईतर्फ नै लागेका साह फेरी मन्त्री भएका छन्।
यो पनि,
- लिलाबल्लभ अधिकारीकै शैलीमा कतारमा मस्ती गर्दै मन्त्री नवलकिशोर साह, छोराले मच्चाए असुली धन्दा
- ओली क्याबिनेटमा सप्तरीका २ मन्त्रीः कमिशनले गन्हाएका साह र सरकारी शिक्षक छोडेर बोर्डिङ खोलेका चौधरी
- वन मन्त्री साहको सम्पत्तिः १२ बोरको राईफल, १५८ तोला सुन, ९ वटा घर र ४० लाख वढि नगद
- उपेन्द्रलाई निकटकाबाटै धोका, नवलकिशोर र रन्जुसमेत अशोक राईको साथमा
- सप्तरीबाट भर्खरै सरुवा भएका डीएफओ साहसहित २४ जना विरुद्ध अख्तियारले दर्ता गर्यो मुद्दा
- प्रदेशमन्त्री हुँदा गृहनगरमै लखेटिएका नवलकिशोरले यसरी पाए संघ सरकारमा अवसर !
- अन्तिम वरियताको उपप्रधानमन्त्री स्विकारेर उपेन्द्र सरकारमा, नवलकिशोरको ताल पनि उस्तै