प्रदेशमन्त्री हुँदा गृहनगरमै लखेटिएका नवलकिशोरले यसरी पाए संघ सरकारमा अवसर !

राजविराज– नेकपा एमाले र माओवादी केन्द्रसहित ४ दलको संयुक्त सरकार बन्दा सप्तरीको भागमा एउटा मन्त्रालय परेको छ। जनता समाजवादी पार्टीले पाएको दुई मन्त्रालयमा बारा २ बाट निर्वाचित भएका अध्यक्ष उपेन्द्र यादवलाई हिसाव नगर्दा सप्तरीको भागमा एक मन्त्रालय परेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहालले आईतबार मन्त्रिपरिषद विस्तार गर्दा जसपाका अध्यक्ष उपेन्द्र यादवले कनिष्ठ उपप्रधानसहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् भने सोही पार्टीका नेता नवलकिशोर साहले सवैभन्दा कान्छो वरियतासहित वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्।

वन मन्त्री साह मधेश प्रदेशका ‘फेलियर र भ्रष्टाचार आरोपी’ पूर्वमन्त्री हुन। कोरोना कालमा मधेशको सामाजिक विकास मन्त्री रहेका साहमाथि स्वास्थ्य सामग्री खरिद, क्वारेन्टाइन निर्माण, कर्मचारी नियुक्ति र योजना बाँडफाँटमा ठूलो रकम अनियमितता गरेको आरोप छ।

०७४ सालमा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट सप्तरी क्षेत्र नं १ (ख) मा उम्मेदवारी दिएका साह नेपाली कांग्रेसका उम्मेदवार बद्रीनारायण महत्मान यादवलाई हराउँदै प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। उनलाई पार्टीले सामाजिक विकास मन्त्री बनाएको थियो। स्थास्थ्य क्षेत्रमा विकासको छलाङ ल्याउने गफ दिएर मन्त्रि बनेका साहलाई केही दिनपछि नै कमिसनमुखी भएको आरोप लाग्न थाल्यो।

मन्दिर निर्माणमा पनि कमिसनको खेल सुरु गरेपछि १८ असार ०७६ उनी गृहनगरमै सर्वसाधारणबाट लखेटिएका थिए। प्रदेश सरकारको १० लाख रुपैयाँको लगानीमा हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहामा सुरु भएको मन्दिरको छत ढलान र जिर्णोद्वाराको काममा कमसल सामग्री प्रयोग भएको गुनासोपछि मन्त्री साह र हनुमाननगर कंकालिनी नगरपालिकाका तत्कालिन मेयर शैलेश (मन्त्रीका छोरा) अनुगमनका लागि पुगेका थिए।

मन्दिरका पूजारी राममनोहर दासले काम गुणस्तरहीन भएको र बालुवा पनि कमसल प्रयोग गरेकाले काम रोक्न माग गरे। आफ्नै मान्छे उपभोक्ता समितिमा राखेर काम गराइरहेका मन्त्री साहले काम रोक्ने कुरा सुन्नासाथ पूजारीलाई अपशब्द प्रयोग गर्दै गाली गर्न थाले। यतिमात्रै होईन, पुजारीलाई हान्न इँटा उचालेपछि स्थानीयवासीले उनलाई लखेटेका थिए।

पार्टीकै नेताबाट असन्तुष्टि र सर्वसाधारणबाट पनि लखेटिन थालेपछि नेतृत्वले उनलाई मन्त्रीबाट फिर्ता बोलाउने तयारी गरिरहेकै बेला तत्कालीन समाजवादी पार्टी र राजपाबीच एकता भयो। तर, एकता धेरै दिन टिक्न सकेन। तत्कालीन राजपाका नेताले जसपा छाडेर लोसपा गठन गरे। मन्त्रि पदको लोभमा साहले सरकारको नेतृत्व गरेको जसपामै वस्ने निधो गरे। पुरानो पार्टीमा फर्केपछि मन्त्री पद गुम्ने डरले जसपा रोजेका साहलाई पार्टीमा टिकाईराख्न मन्त्रिमा पनि टिकाई राख्नुपर्ने बाध्यता उपेन्द्रलाई पर्यो। त्यसैले उनले सामाजिक विकास मन्त्रालयमा निरन्तरता पाए।

जसपामा अहिले साहको प्रभाव बलियो छ। ०७९ सालको प्रतिनिधी सभामा निर्वाचनमा एमालेसँग तालमेल गरेको जसपाको भागमा उम्मेदवारी दिने भागवण्डा हुँदा सप्तरी क्षेत्र नम्बर १ पनि पर्यो। त्यहाँ साहलाई नै उम्मेदवार बनाईयो। जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहालाई पराजित गर्दै साहले प्रदेशबाट संघमा छलाङ मारे।

गठवन्धन बनाउने र भत्काउने खेलमा अहिले जसपा पनि सत्तापक्ष भएकाले साहले वन तथा वातावरणमन्त्रालयको जिम्मेवारी पाएका छन्। मन्त्री बन्दैदेखि उनी माथि आर्थिक चलखेलको आरोप लाग्न थालिसकेको छ। अन्य संघर्षसिल नेता पार्टीमा हुँदा हुँदै उनैलाई पटक पटक अवसर दिनुका पछाडि स्वार्थले काम गरेको कतिपय नेताहरुले गुनासो गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट