‘किर्ते नेपाली’ शैलेन्द्रमोहनलाई उपेन्द्र यादवको आशीर्वादः यस्तो छ भारतीय नागरिकले चलाएको नेपाली राजनीति

राजविराज– सिमाना कटेर नेपाल छिर्ने र नेपालीहरुकै सहयोगमा नेपाली नागरिक्ता बनाउने घटना नयाँ होइन। तर, भारतमै जन्मेर त्यहाँको विश्वविद्यालयबाट इञ्जिनियरिङ पढेका र आफ्नै श्रीमतीलाई नेपाली नागरिकता दिलाउन नसकेका शैलेन्द्रमोहन झा जस्ता व्यक्तिले दशकौंसम्म नेपाली राजनीति र प्रशासन कब्जा गरिरहनु भने अचम्मको विषय हो।
शैलेन्द्रमोहन झाको नाम केवल शिक्षा, स्वास्थ्य, व्यापार र ठेक्का–पट्टामा मात्र सीमित छैन, उनी मधेसको शक्तिशाली दल जसपा नेपालका आर्थिक अभिभावक र त्यसका नेता उपेन्द्र यादवका विश्वास पात्र हुन। उनी ०७९ को संघीय निर्वाचनमा सांसद बन्ने प्रयासमा समेत थिए।
२०५० को दशकदेखि मधेसमा राजनीतिक आन्दोलन चर्कंदै थियो। त्यस वेला शैलेन्द्रमोहन आन्दोलनरत पार्टीका ‘सपोर्टर’का रूपमा चिनिन्थे। उनको पहिचान ठेक्कापट्टा गर्ने, पैसाको पहुँच राख्ने र नेताहरूलाई सहयोग गर्ने ब्यक्ति भन्ने थियो।
कालान्तरमा यो सम्बन्ध उपेन्द्र यादवसँग नजिकिँदै गयो। यादव नेतृत्वको संघीय समाजवादी फोरम र पछि जनता समाजवादी पार्टी नेपाल (जसपा) मा उनी ‘विशेष सहयोगी र डोनर’को रूपमा स्थापित भए।
जसपा भित्र उनले निर्वाचनका बेला व्यापक आर्थिक सहयोग र ‘लजिस्टिक सपोर्ट’ गरेको स्रोतहरूको दाबी छ। यिनै कारण ०७९ को निर्वाचनमा उनी पार्टीको समानुपातिक सांसदको सूचीमा नाम राख्न सफल हुने अवस्थामा पुगे।
‘समानुपातिक टिकटका लागि शैलेन्द्रमोहनले करोडौं रकम खर्च गरेका थिए। पार्टीभित्र पनि नाम अगाडि बढाइएको थियो। तर, पार्टीभित्रैको असहमति चर्किएपछि अन्तिम समयमा उनलाई पछि हटाइएको हो।’
आज पनि जसपा नेपालको केन्द्रिय सदस्य बनेर उनी राजनीतिक पहुँचको साँचो हातमा राखिरहेका छन्। स्थानीय तहदेखि संघीय नेतृत्वसम्म उनले ठूला नेताहरूसँग नियमित सम्पर्क र सहकार्यलाई बलियो राखेका छन्।
यतिमात्रै होईन, शैलेन्द्रमोहन झाको भारततर्फ झुकाव सार्वजनिक तथ्य हो। नेपाल भारत मैत्री संघमा उनी २०६४ सालदेखि निरन्तर प्रतिनिधित्व गरिरहेका छन्। संघको दुई कार्यकाल केन्द्रीय सदस्य, बरिष्ठ उपाध्यक्ष, सहअध्यक्ष हुँदै हाल उनी नेपाल भारत मैत्री संघको अध्यक्ष बनेका छन्।
मधेश आन्दोलनका समयमा भारतीय दूतावाससँगको उनको पहुँच र सम्पर्क झनै तीव्र भएको स्रोतहरू बताउँछन्। यस विषयमा शीर्ष खबरमा यसअघि नै समाचार प्रकाशित भएको छ। मधेश आन्दोलन चर्काउन र सप्तरीतर्फ जनमत उक्साउन उनले भारतीय दूतावासका अधिकारीलाई सप्तरी बोलाएको समेत त्यस वेलाका विभिन्न मिडियाले समाचार लेखेका छन्।
मधेश आन्दोलनको उत्कर्षमा नेपाल–भारत सीमा नाकाबन्दी गराएर नेपाली जनता माथि खाद्यान्न, औषधी, इन्धनको संकट थप्ने कुटनीतिक खेलमा उनले प्रत्यक्ष भूमिका खेलेको स्रोतहरूको आरोप छ।
‘मधेश आन्दोलनका ठूला नेताहरू सीमा क्षेत्रमा वसिरहँदा शैलेन्द्रमोहन भारतका प्रतिनिधिहरूसँग प्रत्यक्ष समन्वय गर्थे। त्यही उक्साहट र सेटिङकै आधारमा नाकाबन्दी लाग्यो र आम नेपाली जनताले कहालीलाग्दो कष्ट भोग्नुप¥यो।’– स्रोत भन्छ।
राजनीतिक विश्लेषकहरूका अनुसार उपेन्द्र यादवजस्ता नेताहरूको संरक्षणकै कारण शैलेन्द्रमोहन प्रवृत्ति मौलाएको हो। भारतीय नागरिकलाई नेपालमा राजनीतिक हैसियत दिने अभ्यासले लोकतन्त्रकै खिल्ली उडाएको उनीहरुको विश्लेषण छ।
यस विषयमा अहिलेसम्म पार्टीले कुनै धारणा सार्वजनिक गरेको छैन। नत अध्यक्ष उपेन्द्र यादवले नै कुनै जवाफ दिएका छन्। पार्टीका राजनीतिक समिति सदस्य शैलेन्द्र साहले भने कार्यब्यस्तताका कारण जवाफ दिन नसकेको वताएका छन्।
यो पनि,