पूर्वमुख्यमन्त्री सिंहद्वारा १ दशकदेखि नविकरण नभएको पिकअपको नम्बर प्लेट झुण्ड्याएर सरकारी स्कारपियो दुरुपयोग

राजविराज — मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले प्राईभेट नम्बर प्लेट राखेर सरकारी गाडी दुरुपयोग गरिरहेको खुलासा भएको छ। पदबाट बाहिरिएको दुई महिना बितिसक्दा पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट लिएको स्कार्पियो गाडी उनले फिर्ता गरेका छैनन्।

अझ चासोको विषय त के छ भने, सरकारी नम्बरको गाडीलाई निजी नम्बर प्लेट झुन्ड्याएर सार्वजनिक कार्यक्रममा उनी खुलेआम आवतजावत गरिरहेका छन्। सिंहलाई प्रायः ज १ झ ४७० नम्बरको स्कर्पियोसँग देखिनुपर्ने हो। उनले पछिल्ला दिनमा ज १ झ ४७० नम्बरको स्कार्पियोमा ज १ च ४७० नम्बरको प्राईभेट नम्बर प्लेट राखेर प्रयोग गरिरहेको पाईएको छ।

यो विषयमा प्रश्न गर्दा सिंहले जेन–जी आन्दोलनका क्रममा सुरक्षा जोखिम देखिएकाले सरकारी नम्बर प्लेट हटाएर निजी नम्बर राखेर चलाएको स्वीकार गरे। उनले रातो प्लेट बनाएको दाबी गर्दै ‘ज १ झ नै हुनुपर्छ, तर कुन नम्बर राखिएको रहेछ, त्यो थप बुझ्दै छु,’ भने। तर पूर्वमुख्यमन्त्रीको यो जवाफले शंका झन् बढाएको छ, किनकि सरकारी सवारीमा मनपरी नम्बर प्लेट प्रयोग गर्नु आफैंमा गैरकानुनी हो।

गत शनिबार सिंह यही निजी नम्बर प्लेट लागेको स्कर्पियो चढेर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित पाठशालामा राजनीतिक भेटघाटका लागि पुगेका थिए। जनमत पार्टीका नेता सिंह २५ जेठ २०८१ मा मधेश प्रदेशको मुख्यमन्त्री बनेका थिए। तर २४ भदौमा पार्टी अध्यक्ष सीके राउतको निर्देशनअनुसार उनले पदबाट राजीनामा दिएका थिए।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्टोर शाखाका कम्प्युटर अधिकृत रामअशिष रायका अनुसार ज १ झ ४७० नम्बरको स्कर्पियो अझै पनि पूर्वमुख्यमन्त्री सिंहकै जिम्मामा छ। ‘गाडी फिर्ता गर्न मौखिक रूपमा जानकारी गराइसकेका छौं,’ उनले भने, ‘तर अहिलेसम्म कार्यालयमा आएको छैन। अब एक–दुई दिनभित्र लिखित पत्राचार पनि गरिन्छ।’

उता, प्रयोग भइरहेको ज १ च ४७० नम्बर प्लेट कसको हो भन्नेबारे बुझ्दा यातायात व्यवस्था कार्यालय जनकपुरले चकित पार्ने तथ्य सार्वजनिक गरेको छ। कार्यालयका अनुसार उक्त नम्बर स्कर्पियोको होइन, एक पिकअप गाडीको हो। त्यो पिकअप १५ साउन २०७० मा पूर्वमुख्यमन्त्री सिंहकै दाजु सुरजकुमार सिंहको नाममा नामसारी भएको देखिन्छ।

अझ रोचक कुरा के छ भने, उक्त सवारी २०७१ सालपछि नवीकरणसमेत नगरिएको अभिलेखमा उल्लेख छ। यस विषयमा सिंहका दाजु सुरजकुमारसँग कुरा गर्दा उनले ज १ च ४७० नम्बर आफ्नो पिकअपको भएको स्वीकार गरे। तर त्यो नम्बर स्कर्पियोमा प्रयोग भइरहेको बारे आफूलाई जानकारी नभएको दाबी गरे। पिकअप गाडी अहिले कहाँ छ भन्ने प्रश्नमा भने उनी मौन रहे।

यातायात व्यवस्था कार्यालय जनकपुरका प्रमुख धनञ्जय सिंहले एक सवारीको नम्बर अर्को सवारीमा प्रयोग गर्नु स्पष्ट गैरकानुनी भएको बताए। ‘त्यसरी नम्बर प्लेट फेरेर चलाइए ट्राफिक प्रहरीले तत्काल कारबाही गर्छ,’ उनले भने, ‘हामीलाई जानकारी आएमा कार्यालयस्तरबाट पनि छड्के जाँच गरेर कारबाही अघि बढाइन्छ।’

पूर्वमुख्यमन्त्रीको हैसियत गुमिसक्दा पनि सरकारी गाडी फिर्ता नगर्नु र निजी नम्बर प्लेट प्रयोग गर्नुले सत्तापछिको उत्तरदायित्व र कानुनी मर्यादामाथि गम्भीर प्रश्न खडा गरेको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट