बालेनको ‘घण्टी शो’ राजनीतिबीच झापामा रास्वपा कार्यालय तोडफोडः माला हुत्याएको प्रकरणले समर्थकको मन अमिलो
झापा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनावी मैदानमा ‘नयाँ राजनीति’को नारा बोकेर हिँडिरहेको बेला झापामा उसको सम्पर्क कार्यालय टोडफोड भएको छ। अर्कोतर्फ बरिष्ठ नेता बालेन्द्र साह (बालेन) को चुनावी शैलीले पार्टीभित्र र बाहिर दुवैतर्फ चर्चा र आलोचना खेपिरहेको छ।
झापाको कमल गाउँपालिका–२ मा रहेको रास्वपाको सम्पर्क कार्यालय बुधबार मध्यराति अज्ञात समूहले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। स्थानीय जयराम अधिकारीको घरको माथिल्लो तला भाडामा लिएर सञ्चालनमा रहेको कार्यालयको झ्यालका सिसा फुटाइएका छन्।
घटनास्थलको अवस्थाले कार्यालयलाई नै लक्षित गरी नियोजित रूपमा आक्रमण गरिएको संकेत मिलेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। निर्वाचनको मुखमा पार्टी कार्यालयमाथि भएको यस्तो आक्रमणलाई सामान्य घटना मानेर टार्न नसकिने भन्दै प्रहरीले अनुसन्धान तीव्र बनाएको र संलग्न व्यक्तिको खोजी भइरहेको जनाएको छ।
कार्यालय तोडफोडको खबरले पार्टी कार्यकर्ता आक्रोशित भइरहेका बेला अर्कोतर्फ पार्टीका वरिष्ठ नेता तथा झापा–५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेनको चुनावी गतिविधि भने विवाद र चर्चाको केन्द्रमा परेको छ। उनी चुनावी दौडभन्दा बढी धार्मिक स्थल र भीडभाड हुने ठाउँमा देखापर्ने, तर मतदातासँग प्रत्यक्ष संवाद गर्न भने हिच्किचाउने शैलीमा देखिएका छन्।
कर्णाली र सुदूरपश्चिमको दौडाहा सकेर कोशी प्रदेश पुगेका बालेन भद्रपुर ओर्लिएपछि उर्लाबारीस्थित ससुराली घरमा बास बसे। त्यसपछि मोरङ, सुनसरी र विराटनगरका विभिन्न स्थानमा उनको ¥याली देखियो। तर, कार्यक्रमहरूमा भाषण, भेटघाट वा औपचारिक संवादभन्दा गाडीको छतमा उभिएर घण्टी बजाउने र समर्थकलाई हात हल्लाउने दृश्य नै दोहोरिँदै गयो। विराटनगरस्थित पार्टी कार्यालयमा सयौं समर्थक उनको सम्बोधन सुन्न पर्खिरहेका थिए, तर उनी गाडीबाटै हात हल्लाउँदै केहीबेरमै अर्को गन्तव्यतर्फ लागे।
‘भेटघाट होला भनेर पर्खियौं, तर नेता त गाडीमै आए, घण्टी बजाए र गए,’ एक समर्थकले निराश हुँदै भने, ‘यी त नेता कम, अभिनेता धेरै भएजस्तो लाग्यो।’ भीड त जुटिरहेको छ, तर संवाद हराइरहेको छ भन्ने गुनासो स्थानीय स्तरमै सुनिन थालेको छ।
सुनसरीको वराहक्षेत्र पुगेर उनले सप्तकोशीमा जेटबोट चढ्दै चतरास्थित खुवालुङसम्मको यात्रा गरे र त्यसलाई सामाजिक सञ्जालमार्फत् सांस्कृतिक पहिचानको प्रतीकका रूपमा व्याख्या गरे। विकास र पहिचानको बहसमा उनको धारणा प्रशंसित भए पनि चुनावी मैदानमा प्रत्यक्ष मतदातासँग संवाद नगर्ने शैलीले भने धेरैलाई चकित पारेको छ।
इटहरीमा भने उनको व्यवहारले झन् अप्रत्याशित दृश्य सिर्जना ग¥यो। स्वागतका लागि माला लिएर उभिएका आफ्नै पार्टीका कोशी प्रदेश महामन्त्री तथा सुनसरी–२ का उम्मेदवार लालविक्रम थापाको माला उनले सार्वजनिक रूपमा अस्वीकार गरे। माला लगाइदिन खोज्दा बालेनले हातले पन्साईदिएपछि केहीबेर कार्यक्रमस्थलमै सन्नाटा छायो। आफ्नै उम्मेदवार अपमानित भएझैं देखिएको दृश्यले कार्यकर्तामाझ असहजता पैदा गरेको थियो।
प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत भइरहेका नेताबाट यस्तो व्यवहार आउनु उपयुक्त हो कि होइन भन्ने प्रश्न उठ्न थालेको छ। चुनावी प्रचार ‘दृश्य’मा सीमित गर्ने कि ‘संवाद’मा लैजाने भन्ने बहस पनि यतिबेला रास्वपाभित्रै चर्किन थालेको छ। राजनीतिक विश्लेषकहरू भन्छन— भीड तान्नु एउटा कुरा हो, मतदाता जित्नु अर्कै।
झापामा कार्यालय तोडफोड र कोशी प्रदेशभर बालेनको विवादास्पद चुनावी शैलीले रास्वपाको अभियानलाई एकैपटक दुई दिशाबाट दबाब दिएको छ। सुरक्षा चुनौती एकातिर छ भने नेतृत्वको शैलीमाथि उठेको प्रश्न अर्कोतिर। नयाँ राजनीति दाबी गर्ने पार्टीले अब देखावटी उपस्थितिभन्दा भरोसा जगाउने व्यवहार देखाउन नसके भीडको ताली मतमा रूपान्तरण हुन्छ भन्ने ग्यारेन्टी छैन। चुनावी मैदानमा घण्टीको आवाजभन्दा मतदाताको मन जित्ने शब्द नै निर्णायक हुनेछन्।

लोकप्रिय
ताजा अपडेट
बालेनको ‘घण्टी शो’ राजनीतिबीच झापामा रास्वपा कार्यालय तोडफोडः माला हुत्याएको प्रकरणले समर्थकको मन अमिलो
