सुन सफा गर्ने बहानामा ठगी गरेको आरोपमा उदयपुरबाट दुई भारतीय नागरिक पक्राउ

गाईघाट— सुनका गहना सफा गरिदिने भन्दै स्थानीय महिलाहरूलाई ठगी गरेको आरोपमा उदयपुर प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। उदयपुरगढी गाउँपालिका–२ र ३ मा महिलाहरूले लगाएका सुनका गहनामा रासायनिक पदार्थ प्रयोग गरी सुनको मात्रा घटाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरी चौकी उदयपुरगढीबाट खटिएको टोलीले आइतबार ठगीमा संलग्न रहेको आरोपमा भारतको बिहार राज्यका करिब २८ वर्षीय गोबिन्द कुमार साह र करिब ३३ वर्षीय सचिन साहलाई पक्राउ गरेको हो। गोविन्द बिहारको सहरसा जिल्ला, पुरिक पुरुषोत्तमपुर ग्राम पञ्चायत (विहान थाना) का हुन भने सचिन मधेपुरा जिल्ला, रहताग्राम पञ्चायत (कुमार थाना) का हुन।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार स्थानीय बासिन्दा पेशल कुमारी मगर र मनमाया तामाङले कानमा लगाएका करिब एक–एक तोला बराबरका सुनका बेरुवा रिङ सफा गरिदिने भन्दै उनीहरूले विभिन्न रासायनिक पदार्थ प्रयोग गरेका थिए। त्यसक्रममा गहनामा रहेको सुनको मात्रा घटाएर ठगी गरेको आशंकामा स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए।

स्थानीयबाट सूचना प्राप्त भएपछि प्रहरी चौकी उदयपुरगढीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानमा सुन सफा गर्ने नाममा गहनामा रासायनिक पदार्थ प्रयोग गरी सुनको अंश घटाउने कार्य भएको आरोप देखिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखिएको छ। उनीहरूमाथि ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट