अर्थतन्त्रमा देखियो सुधारका संकेत, पछिल्लो ५ दिनमा मात्रै २० अर्ब रूपैयाँले राजस्व बढ्यो

काठमाण्डौं– गत वर्षदेखि ऋणात्मक वृद्धिदर देखिएको राजस्व चालु आर्थिक वर्षको भदौ २५ गतेसम्म आइपुग्दा धनात्मक देखिएको छ।

सरकारी आय/व्ययको विवरण राख्ने महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार आर्थिक क्रियाकलापमा क्रमशः सुधारका संकेत देखिन थालेको छ।

भदौ २४ गतेसम्म गत वर्षको तुलनामा न्यून राजस्व उठेकोमा २५ गते एकै दिन ६ अर्ब ३६ करोड राजस्व उठेपछि असुली गत वर्षको भन्दा धेरै भएको जनाईएको छ। तथ्यांक अनुसार पछिल्लो पाँच दिनमा मात्रै २० अर्ब रूपैयाँले राजस्व बढेको छ।

आर्थिक वर्ष २०७८÷७९ मा भदौ २५ गतेसम्म एक खर्ब २७ अर्ब रूपैयाँको राजस्व उठेको थियो भने चालु वर्षमा एक खर्ब ३० अर्ब पुगेको छ। समग्रमा राजस्व मात्रै ३ अर्ब रूपैयाँले वृद्धि भए पनि पछिल्ला दिनहरूमा यस्तो वृद्धिदर बढेको छ।

अघिल्लो वर्षको भदौ र यस वर्षको भदौमा उठेको राजस्वले राजस्व असुलीमा राम्रै सुधार भएको देखाउँछ।

गत वर्ष भदौ १ देखि २५ गतेको बीचमा ४८ अर्ब रूपैयाँको राजस्व उठेको थियो भने चालु वर्षमा यही समयमा ५५ अर्ब रूपैयाँ राजस्व उठेको छ। महालेखाको तथ्यांकअनुसार भदौ लागेयता यस्तो असुली १४ प्रतिशतले बढेको छ।

भदौ लागेयता बैंकबाट प्रवाह हुने ऋण पनि बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार भदौ १ गतेदेखि २३ गतेसम्म ३२ अर्ब रूपैयाँ कर्जा बढेको छ। यसले पनि अर्थतन्त्रमा क्रमिक रुपमा सुधार देखिएको अर्थविद्हरु बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट