ढाकाकुमारको अन्तर्वार्तापछि अनुशन्धानमा तानिए मोहनजंग थापा

काठमाण्डौं– निलम्वित सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बनाउन तीन करोड मागेको आरोप लगाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्य मोहनजंग थापामाथि छानबिन थालेको छ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणसँग यो प्रकरण पनि जोडिएको छ। थापाले आफुसँग ३ करोड मागेपछि आफुले प्रसाईसँग २ करोड ऋण मागेको श्रेष्ठले दावी गरेका छन्।

आफनो वारेमा सर्वत्र हंगामा भएपनि श्रेष्ठ समस्यामा परेका थिए। पार्टीले उनलाई साधारण सदस्य समेत नरहनेगरी हटायो। सांसद पद गयो।

अहिले पछिल्लो समयमा आएर उनै श्रेष्ठले मोहनजंगको नाम मुछेका हुन। उनले सुरुमा लामिछानेको कोर टिमले पैसा मागेको वताउँदै आएका थिए। तर, केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा श्रेष्ठले कोर टिमको सदस्य मोहनजंगले मन्त्री बनाइदिने भन्दै आफूसँग तीन करोड रकम माग गरेको आरोप लगाए।

उनको यो आरोपछि पार्टीले थापाका विषयमा छानबिन थालेको हो। ‘केन्द्रीय अनुशासन आयोगका प्रमुखसमेतको उपस्थितिमा हिजो बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा यस विषयमा छलफल भएको थियो,’ पार्टीका महामन्त्री मुकुल ढकालले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा केन्द्रीय अनुशासन आयोगबाट केन्द्रीय सदस्य मोहनजंग थापालाई सोधपुछ तथा अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको छ।’

बिनाआधार, बिनाप्रमाण पार्टीको छविमा आँच पु¥याउने कलुषित मनसायले आम जनसमुदायमाझ पार्टीका सम्बन्धमा फैलाइएका सूचनाबाट भ्रममा नपर्न रास्वपाले आग्रह पनि गरेको छ।

‘तथापि राष्ट्रिय स्वतन्त्र पार्टी पारदर्शिता, जवाफदेहिता र भ्रष्ट्राचारप्रति शून्य सहनशीलताको नीति अनुसरण गर्ने पार्टी भएकाले यस प्रकरणमा अझै पनि पार्टीका कुनै पनि तहको पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर डा. श्रेष्ठ वा जोकोही आउनुभएको अवस्थामा पार्टीले त्यस्ता सदस्य जोकोही भए पनि प्रमाण पेश भएको ७२ घन्टाभित्र कारवाही गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौं,’ रास्वपाको विज्ञप्तिमा भनिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट