रक्सीको विवादले पूर्वप्रहरी जवानको हत्या, दशगजामा भेटियो शव

जनकपुर– नेपाल भारत सीमा क्षेत्रमा रक्सी पसल सञ्चालन गरेपछि भएको विवादका कारण बारामा एक जना पूर्व सशस्त्र प्रहरी जवानको हत्या भएको छ। पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा पुर्वप्रहरी ३४ वर्षीय अमरेशकुमार सिंहको शव फेला परेको छ।

सिंहको शरीरमा पछाडिबाट धारिलो हतियारले प्रहार गरेको र शरीरका विभिन्न ठाउँमा चोट देखिएको छ। पाँच वर्ष प्रहरीमा कार्यरत रहेका सिंहले केही महिनाअगाडि मात्रै जागिर छोडेका थिए।

जागिर छोडेपछि सिंहले केही महिना भारतको बरहर्वा र नेपालको पिपरपाती नाकामा रक्सी पसल सञ्चालन गरे। केही समयअघि पसल बन्द भयो। उनी गाउँमै खेतीपाती गर्न थाले। तर, हत्याको कारण भने रक्सी पसल नै भएको देखिएको छ। पसल सञ्चालन गर्दा भारतीय नागरिकहरू राहुल साह र सामलाल महतोसँग उनको निरन्तर विवाद देखिएको थियो।

राहुल पनि दशगजाको नेपालतर्फ नै रक्सी पसल सञ्चालन गर्दै आएका थिए। मृतक सिंहले भारतीय नागरिक साह र महतोलाई विपक्षी बनाई इलाका प्रहरी कार्यालय सिम्रौनगढमा निवेदन पनि दिएका थिए।

सो विषयमा आजै छलफल राखिएको थियो। तर, घरमा सुतिरहेको अवस्थामा सिंहलाई बोलाएर दशगाजातर्फ लगी धारिलो हतियार प्रहार गरी हत्या गरेको देखिएको बाराका एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए।

प्रहरीले घटनामा ३ जनाको संलग्नता देखिएको जनाएको छ। ती मध्ये साह र महतो पक्राउ परेका छन्। घटनामा संलग्न एकजना फरार रहेकाको काफ्लेले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट