प्रचण्डको घडी र गंगाको ब्यागमा सांसद सुनिल शर्मालाई रिस, लिलामी गर्न माग (भिडिओसहित)
काठमाडौं– नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको २ करोडको घडी र उनकी छोरीको ब्याग लिलामी गरेर दुरदराजको स्कुलहरुमा लगानी गर्नु पर्ने माग गरेका छन्।
शुक्रवार प्रतिनिधि सभामा शिक्षा विधेयकमाथि छलफलका क्रममा सांसद शर्माले यस्तो माग गरेका हुन। एउटा शिक्षकले देशको नेतृत्व गर्दैगर्दा सँगैका साथीहरू जागिर जोगाउन सडकमा आउनुपरेको बताएका उनले राजनीतिक नेतृत्वको सोच परिवर्तन नभएसम्म जतिसुकै राम्रो विधेयक आएपनि केही नहुने बताए ।
‘अहिले देशको नेतृत्व प्रचण्डले गरिराख्नुभएको छ । कमरेड प्रचण्डको इतिहास हामीले कोट्याएर हे¥यौं भने अहिले जुन विधेयकमा हामी छलफल गर्दैछौं उहाँ यो विधेयक आउनुअघि नै मास्टर हुनुहुन्थ्यो । अहिले उहाँ देशको नेतृत्व गर्न आइपुग्नुभएको छ’ उनले भने–‘हिजोअस्ति शिक्षक साथीहरू सडकमा हुनुहुन्थ्यो एउटा शिक्षक जो आज प्रधानमन्त्री बन्नुभएको छ सँगैको अर्को शिक्षक आफ्नो जागिर, जोगाउन र गाँस, बाँस कपालको लागि हात्तीछाप चप्पल लगाएर सडकमा छ । तर, यो देशको प्रधानमन्त्रीले लगाएको घडीको मूल्य ६५ लाखदेखि २ करोडसम्मको छ । हाम्रो समस्या यहाँनेर हो ।’
राजनीति र माथि बस्ने नेताहरूको सोच परिवर्तन नभएसम्म जति राम्रो विधेयक बनाए पनि निकम्मा भएर जाने उनले ठोकुवा गरे। ‘मेरो आग्रह के छ भने प्रचण्डजीले लगाउने घडी र उहाँको छोरीले बोक्ने गुची ब्याग लिलामीमा राखेर नेपालको दूरदराजको स्कुलहरूमा टीनको छानो प्वाल परेर पढ्न पाएका छैनन्’ उनले भने–‘बच्चाहरूले एकसरो लुगा लगाउन सकेका छैनन् तर, नेतृत्वको नियत सफा हुनुप¥यो । अहिले जनयुद्ध हाकेर आउनुभएको प्रचण्डको परिवारको सम्पत्तिलाई बिक्रीमा राखिदिनुभयो र दूरदराजको स्कुलमा हालिदिनुभयो भने नेपाली जनताले राम्रोसँग पढ्न पाउँछन् ।’