सुन तस्करी प्रकरणमा महरालाई बयानमै उन्मुक्ति, मुद्दा नचलाउन सिफारिस

काठमाडौं– विद्युतीय सिगरेट भेपमा लुकाएर गरेको सुन तस्करीमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा चलाउनु नपर्ने निस्कर्ष नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले निकालेको छ ।

आइतबार सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको अनुशन्धान प्रतिवेदनमा कृष्णवहादुरका छोरा राहुल, दावाजिन वाङका चालक लोकेन्द्र पौडेल र दावा छिरिङलाई मुद्दा चलाउन सिफारिस गरेको छ।

लुइ सहितका ६ जना चिनियाँ नागरिकको हकमा भने भेटिएको बखत मुद्दा चल्ने गरी नाम समावेश गरिएको स्रोतले जनाएको छ । यो प्रकरणमा सीआईबीले संगठित अपराधको कसुरमा ६० दिनसम्म अनुसन्धान गरेर पठाएको प्रतिवेदनको आधारमा ०७० असार २७ गते जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

मुद्दा दर्ता भएपछि यो प्रकरणमा माओवादी उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरा पनि जोडिएको खुलेको थियो । महराले सुन सहितको भेप छुटाउन दबाव दिएको खुलेको थियो भने उनका छोरा राहुल महराको चिनियाँ नागरिक वाङसँग निकट सम्बन्ध रहेको देखिएको थियो । तर महरासँग सीआईबीले लामो समय बयान समेत लिएन।

चौतर्फी दबावपछि सीआईबीले भदौ १३ गते पूर्वसभामुख महराका छोरा राहुललाई पक्राउ गरेर सुन तस्करीबारे फेरि अनुसन्धान थालेको थियो। प्रहरीले यसबीचमा महरासग पनि बयान लियो। असोज १४ गते सीआईबीले ४५ मिनेट बयान लिँदा उनले चिनियाँ सुन तस्कर दाओजिन वाङ्गसँग आफ्नो पुरानो चिनजान रहेको महराले स्विकारेका छन् ।

अनुसन्धान अधिकृतहरूसँग महराले भनेका छन–‘वाङ्गले मलाई आफू एउटा फलफूल व्यापारीको रूपमा नेपालमा व्यापार गर्ने भनी चिनाएका थिए। भेप त्रिवि भन्सार कार्यालयमा जफत भए पश्चात वाङ्गले उक्त सामान त्रिवि भन्सार कार्यालयमा पक्राउ परेको तीन दिन भयो, के भएको हो बुझि दिनु पर्ने भयो भनी मलाई भनेको तथा मैले अरुण पोखरेललाई पहिलेदेखि चिनेको भएको हुनाले के कसो भएको हो, कानुन बमोजिम के गर्न मिल्छ हेरि दिनु होला भनी फोन गरेको हो।’

‘मेरो छोरा राहुल भन्ने रेशम महरा के कारणले उक्त इलेक्ट्रिक सिगरेट (भेप) जफत भएको रहेछ, कानुन बमोजिम मिल्ने भए सहयोग गरी दिनु भनी अरुण पोखरेलको सम्पर्कमा गएका हुन् । निज दाओजिन वाङ्ग सँग मेरो पुरानो चिनजान हो, निजले मलाई आफू एउटा फलफूल व्यापारीको रूपमा नेपालमा व्यापारे गर्ने भनी चिनाएका थिए र निजसँग सामान्य विषयमा फोनमा कुराकानी हुने गर्दथ्यो ।’– उनले बयानमा भनेका छन्।

यो बाहेक उनीसँग अन्य कुनै विषयमा कुराकानी हुने र अन्य कुनै किसिमको सम्बन्ध पनि छैन भन्दै महराले कागज गरेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियमित जाँचका क्रममा ०७९ माघ २९ गते दुई वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान ई–सिगरेट (भेप) बरामद गरेको थियो । भेप गोदाममा राखिएका बेला तस्कर समूहले छुटाउनका लागि ताकेता गरिरहेको थियो।

तर, भन्सार अधिकृत रेवन्त खड्का सहितको मिलेमतोमा सुन बिक्री गरिएको थियो । सुन बिक्री गरेको थाहा पाएपछि तत्कालीन प्रमुख भन्सार प्रशासकले अनुसन्धानका लागि सीआईबीमा जाहेरी दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट