कोशीमा केदार कार्कीको उम्मेदवारी फिर्ता गर्न प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मको फोन

विराटनगर– कोशी प्रदेशमा नेपाली कांग्रेसका सांसद केदार कार्कीले मुख्यमन्त्री दाबी गरेपछि नेपाली कांग्रेसभित्र हंगामा सुरु भएको छ। पहिलो पटक नेता शेखर कोईरालाले सभापति शेरवहादुर देउवालाई चुनौती दिएका छन्।

पार्टीभित्र देउवाको एकलौटी विरुद्ध नेकपा (एमाले)का ३९ र कांग्रेसका ८ गरी कूल ४७ सांसदको हस्ताक्षरसहित कोईराला पक्षका सांसद कार्कीले कोशीमा मुख्यमन्त्रीको दावी गरेका छन्। देउवाले भने कांग्रेससहित माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीले माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा समर्थन गर्ने निर्णय गरेका थिए।

तर त्यो निर्णय कोशीमा शेखर कोइरालानिकट सांसदहरूले लत्याई दिए। बिहीबार प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर कार्की र आङ्बोले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। कार्कीले ४७ सांसदको हस्ताक्षर बुझाएका छन् भने आङ्बोले संसदीय दल नेताहरूको हस्ताक्षर बुझाएका छन्।

यसरी संस्थापन पक्षको निर्णयविपरीत नेता कोइराला पक्षका सांसदहरू उभिएपछि राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहालदेखि कांग्रेस नेता ज्ञानेन्द्र कार्कीसम्मको दबाब सुरु भएको छ।

राष्ट्रपति पौडेलले शुक्रबार बिहानै नेता कोइरालालाई फोन गरे। कोशीमा सांसद कार्कीले पनि मुख्यमन्त्रीमा उम्मेदवारी दिएको विषयमा केन्द्रित रहेर उनले कुराकानी गरे। जवाफमा कोइरालाले सभापति, महामन्त्रीहरू नेता कृष्ण सिटौला लगायतले माओवादीका आङ्बोलाई मुख्यमन्त्री छाड्न तयार भएको कुरा मैले प्रधानमन्त्रीका मुखबाट सुन्नुपरेको भन्दै दुखमनाउ गरेका थिए।

कोइरालाले आफूलाई पार्टीभित्र घेराबन्दी गर्न खोजिएको बताएका थिए। यसपछि कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले नेता कोइरालासँग टेलिफोनमा कुराकानी गरे।। जवाफमा कोइरालाले कोशीका ८ जना कांग्रेसका सांसदलाई कारबाही गर्न नमिल्ने बताएका थिए।

सभापति देउवाले भने कोइरालासँग कुराकानी गरेका छैनन्। प्रधानमन्त्री दाहालले कोशी मुख्यमन्त्रीमा दाबी पेश गरेका सांसद कार्कीलाई फिर्ता बोलाउन कोइरालालाई आग्रह गरेका थिए।

तर कोइरालाले हुँदैन भनिदिएका छन्। ‘तपाईंहरूले आङ्बोजीलाई नै ब्याक गर्नुहोस्, हामी ब्याक हुन मिल्दैन भन्नुभएको छ।’– उनी निकट एक नेताले भने। नेता कोइरालाले कोशीमा विकसित राजनीतिक घटनाक्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको साथ नपाइएको गुनासोसमेत आफूनिकट नेताहरूसँग राखेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट