एक दिवसीय विश्वकपमा भारतसँग पाकिस्तान सधैं निरिह, ८ प्रतियोगितामा पाकिस्तान ०

काठमाडौं– आईसीसी एकदिवसीय विश्वकपमा भारतले पाकिस्तानलाई ७ विकेटले विकेटले पराजित गरेको छ। शनिवार अहमदाबादमा टस जितेर पहिले फिल्डिङ गरेको भारतले पाकिस्तानलाई १९१ रनमा अलआउट गरेको थियो ।

१९२ रनको लक्ष्य भारतले ३० दशमलव ३ ओभरमा ३ जम्मा तीन विकेट गुमाएर पुरा गर्यो । भारतको जितमा कप्तान रोहित शर्माले ८६ रनको पारि खेले । ६३ बल खेलेका उनले ६ छक्का र ६ चौका प्रहार गरे ।

यस्तै श्रेयस अय्यरले नट आउट ५२ रन बनाए । विराट कोहली र शुभमन गिल १६÷१६ रनमा आउट भए । केएल राहुलले १९ रन बनाए ।

पाकिस्तनका लागि शाहीन शाह अफ्रिदीले २ विकेट लिए । यस्तै हसन अलिले १ विकेट लिए । यसअघि पाकिस्तानका लागि बाबर आजमले ५० रन र मोहमद रिजवानले ४९ रन बनाएका थिए ।

इमाम उल हकले ३६ र अब्दुल्लाह सफिकले २० रन बनाएका थिए । हसन अलीले १२ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोर स्कोर बनाउन सकेनन् । भारतका जसप्रीत बुम्राहा, मोहमद सिराज, हार्दिक पाण्डेया, कुलदीप यादव र रबिन्द्र जडेजाले समान दुई दुई विकेट लिएका थिए ।

अंक तालिकामा भारत ३ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको न्युजिल्यान्डको पनि समान ६ अंक छ। पाकिस्तान भने ३ खेलबाट ४ अंक जोड्दै चौथो स्थानमा छ।

एकदिवसीय विश्वकपमा भारतको पाकिस्तानविरुद्ध यो आठौं जित हो। भारतले यसअघिका सातवटा विश्वकपमा पाकिस्तानलाई हराएको थियो । यी दुई राष्ट्रबिच विश्वकपमा सबैभन्दा पहिले सन् १९९२ मा पहिलो खेल खेलिएको थियो । त्यो खेलमा भारत ४३ रनले विजयी भएको थियो । सन् १९९६ को विश्वकपमा भारतले पाकिस्तानलाई ३९ रनले हराएको थियो । त्यसपछि सन् १९९९ को विश्वकपमा भारतले पाकिस्तानलाई ४७ रनले पराजित गरेको थियो ।

यसैगरी सन् २००३ को विश्वकपमा पाकिस्तानी टोली भारतसँग ६ विकेटले हारेको थियो । सन् २०११ को विश्वकपमा भारतले पाकिस्तानलाई २९ रनले हराएको थियो । सन् २०१५ को विश्वकपमा भारतले पाकिस्तानलाई ७६ रनले हराएको थियो । अन्तिम पटक सन् २०१९ को विश्वकपमा पनि भारतले आफ्नो चिर प्रतिद्वन्द्वी पाकिस्तानमाथि ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ८९ रनको विजय प्राप्त गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट