अख्तियारका नाममा यसरी भईरहेको छ ठगी, ६ महिनादेखि असुली गर्दै आएका कोईराला पक्राउ
काठमाडौं– सरकारी कार्यालयमा भईरहेका कमजोरीहरु पत्ता लगाई रकम वार्गेनिङ गर्दै आएका चितवनको भरतपुर महानगरपालिका– १२ निवासी एक युवक पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका स्वघोसित कर्मचारी ३७ पर्षीय मोहन कोइराला पक्राउ परेका हुन्। भरतपुर घर भएपनि उनी पछिल्लो समय बाँकेको नेपालगन्ज उपमहानगरपालिका राँझामा डेरा भाडा गरी बस्दै आएका थिए।
विगत ६ महिनादेखि नेपालगन्ज बस्दै आएका उनको अन्य आम्दानीको स्रोत र ब्यवसाय देखिएको छैन। उनले ठगीको धन्दा नै सञ्चालन गरेको बाँकेका डिएसपी नारायण डाँगीले बताए। कोईरालाले खास गरी सरकारी कार्यालय तथा विभिन्न संघसंस्थालाई टार्गेट गर्ने गरेका थिए।
त्यहाँका कमजोरी पत्ता लगाई बार्गेनिङ गर्ने र सुविधा लिँने गर्दै आएका कोईरालाको बारेमा थप अनुसन्धान हुन बाँकी नै रहेको प्रहरीले जनाएको छ। सरकारी कार्यालयका कर्मचारी र विभिन्न संघसंस्थाका मानिसहरूलाई रकम माग्दै सताउने क्रम नरोकिएपछि उनको बारेमा अख्तियारसम्म गुनासो पुगेको थियो।
सोही गुनासोका आधारमा अख्तियारको बुटवल कार्यालय, नेपालगन्ज कार्यालय र बाँके प्रहरीको टिमले संयुक्त रूपमा कोइरालालाई बिहीबार पक्राउ गरेका थियो। पक्राउ गर्ने क्रममा आरोपित कोइरालाले गालीगलौज गर्नुका साथै काम–कारबाहीमा अवरोध गर्न खोजेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार कोइरालालाई सार्वजनिक गरेको हो।