राष्ट्रपतिबाट आममाफी पाएको ५ महिनामै अर्को अपराध, २५ लाख फिरौती माग्दा फेरी थुनामा

भरतपुर– गणतन्त्र दिवसको अवसरमा (१४ जेठ) राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि कैद मुक्त भएका एक व्यक्ति ५ महिना नपुग्दै अपहरण तथा ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका छन्।

मकवानपुरको हेटौंडा–२ घर भई हाल भरतपुर–९ बस्ने ५५ वर्षीय रामचन्द्र थापालाई प्रहरीले सोमवार साँझ पक्राउ गरेको हो। उनीमाथि भरतपुर १ मा धनवन्तरी क्लिनिक सञ्चालन गर्दै आएका सोमराज सुवेदी र उनका छोराको हत्या तथा अपहरण गर्ने धम्की दिई २५ लाख फिरौती मागेको आरोप छ।

थापा र सुवेदीबीच १७ वर्षदेखि चिनजान छ। थापाकी श्रीमती सुवेदीको क्लिनिकमा मधुमेहको उपचार गराउँथिन्। सुवेदीलाई थापाले कैद सजाय भोगेको र आममाफी पाएर छुटेको कुरा पनि थाहा थियो। तर, उनैले यसरी धम्की दिएका होला भन्ने शंका गरेका थिएनन्।

थापा यसअघि डाका मुद्दामा पक्राउ परी सजाय काटेका ब्यक्ति हुन। १३ मंसिर ०७५ मा उनीविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा मुद्दा दर्ता भएको थियो। सो मुद्दामा चितवन जिल्ला अदालतले उनलाई ९ वर्षको कैद सजाय तोकेको थियो। तर, राष्ट्रपतिबाट आममाफी पाएपछि उनी ४ वर्ष ६ महिना ३ दिनमै छुटे।

कारागार मुक्त भएको पाँच महिनामै उनी अर्को आरोपमा पक्राउ परेका हुन्। प्रहरीका अनुसार थापाले ८ कात्तिकमा सुवेदीलाई टेलिफोन गरी हिन्दी भाषामा २५ लाख रुपैयाँ माग गर्दै धम्क्याएका थिए। पैसा नदिए बाबुछोराकै अपहरण गरी हत्या गर्ने धम्की दिए। सुवेदीले बार्गेनिङ गरेर फिरौतीको रकम २५ लाखबाट २० लाखमा घटाए र प्रहरीको सम्पर्कमा पुगे।

सोही क्रममा थापाले सोमबार साँझ भरतपुर अस्पतालको नयाँ गेट नजिकै सुवेदीलाई भेट्न बोलाए। सुवेदीले पैसा दिनै लाग्दा प्रहरीले उनलाई पक्राउ गर्यो। प्रारम्भिक बयानमा थापाले आरोप स्वीकार गरेको डीएसपी विजयराज पंडितले बताए।

सम्बन्धित खबर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट