गाडी नदिएको रिसमा गाउँपालिका उपाध्यक्षले प्रशाशकीय अधिकृतलाई पड्काए

काठमाडौं– गाडी माग्दा नदिएको रिसमा कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मीले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीलाई पड्काई दिएका छन्।
बिहीबार दिउँसो ज्ञवालीको कार्यकक्षमै प्रवेश गरी कुर्मीले कुटपिट गरेको आरोप लागेको छ। उपाध्यक्षले हातपात गर्ने क्रममा ज्ञवालीको नेम प्लेट र उनले काम गर्ने कार्यालयको टेवुलको सिसा समेत फुटाई दिएका छन्।
उपाध्यक्ष कुर्मीले आफ्नो अधिकारले पाएका विषयवस्तुमा तोकआदेश गर्दा बेवास्ता गर्ने र कामविशेषले कार्यालयको गाडी माग्दा नदिएकाले विवाद भएको स्विकारे। तर, हातपात गरेको विषय उनले स्विकारेनन्।
अधिकृत ज्ञवालीले भने सरकारी गाडी दैनिक घर लैजाने र दुरुपयोग गरिरहेको आरोप लगाए । कार्यपालिका बैठकले निर्णय गरेर गाडी आफूलाई प्रयोग गर्न दिएको अधिकृत ज्ञवालीको भनाई छ। कार्यपालिका बैठकले फिर्ता मागेमात्र आफूले दिने भनेपछि उपाध्यक्ष आक्रोशित भएर विवाद गर्दै हातपातमा उत्रिएको उनले वताए।
गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीको अध्यक्षतामा बैठक बसेर उपाध्यक्षलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । उनलाई कारबाही नगरेसम्म गाउँपालिका र वडा कार्यालयको सबै काम ठप्प पार्ने निर्णय पनि गरेका छन् ।