सरकारको बलमिच्याईँः मुद्दाको किनारा नलाग्दै रिगलको कैद मिनाहा गरेको सर्वोच्चको खुलासा

काठमाडौं– ब्यक्ति हत्याको आरोपमा जन्मकैदको सजाय पाएका रिगल भन्ने योगराज ढकाललाई मुद्दाको अन्तिम किनारा नै नलागी सरकारले कैद मिनहा दिने निर्णय गरेको खुलेको छ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसर पारी गत ३ असोजमा रिगललाई कैद मिनाहा दिएका थिए। उक्त निर्णयपछि नेपालगञ्जकी भारती शेर्पा मानन्धरले आफ्ना पति चेतन मानन्धरका हत्यारा रिगललाई सरकारले आममाफी दिएर छाडेकाले उनलाई पून थुनामा पठाउन माग गर्दै दर्ता गरेको रिटमा विहिवार फैसला सुनाउँदै सर्वोच्च अदालतले यस्तो खुलासा गरेको हो।

रिगलले २८ असार ०७२ मा नेपालगन्जका चेतन मानन्धरलाई खुँडाले हानी हत्या गरेका थिए। भारती चेतनकै श्रीमती हुन। उनको रिटमा फैसला गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजालसले राष्ट्रपतिबाट भएको निर्णय बदर गरिदिएको छ।

सो अपराधमा रिगललाई जिल्ला अदालत बाँकेले जन्मकैदको सजाय सुनाएको थियो। उच्च अदालत नेपालगञ्जले पनि २८ माघ ०७६ मा जिल्लाकै फैसला सदर भएपछि रिगलसहितका प्रतिवादीहरुले जिल्ला र उच्चले गरेको सजाय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन गरे।

त्यो पुनरावेदन पनि रिगलले गत १० भदौमा फिर्ता लिएका थिए। त्यसको २४ दिनपछि सरकारको सिफारिसमा राष्ट्रपतिले उनको कैद मिनाहा गरिदिएका थिए। उनीसँगै सोही मुद्दाका प्रतिवादीहरु मोहनलाल खड्का, प्रेमध्वज केसी, नवराज खत्रीले पनि गत भदौमा नै पुनरावेदन फिर्ता लिएका थिए। तर सरकारले उनीहरुको सजाय भने मिनहा गरेको थिएन।

यसैगरी, यही मुद्दाका अन्य प्रतिवादीहरुको भने पुनरावेदन सर्वोच्चमा विचाराधीन छ। यी प्रकरणले रिगललाई कैद मिनहा दिनुको कारण खुल्न नआएको तथा स्वच्छता, निष्पक्षता र समान व्यवहारका दृष्टिले प्रश्न उठ्नु स्वाभाविक देखिएको सर्वोच्चको ठहर छ।

सहप्रतिवादीहरुको पुनरावेदन अदालतमा विचाराधीन रहेको अवस्थामा रिगलले फिर्ता लिँदैमा मुद्दाको अन्तिम किनारा लागेको मान्न नमिल्ने पनि आदेशमा उल्लेख छ। रिगल पक्षले भने आफूले सर्वोच्चमा गरेको पुनरावेदन फिर्ता लिइसकेकाले मुद्दाको अन्तिम किनारा लागिसकेको दाबी गरेको थियो।

मुद्दामा अन्य प्रतिवादीहरु हरि ओली, केशवबहादुर रोकाय, यामबहादुर बुढा मगर, दिपेन्द्र मल्ल, प्रितम सिंह, विवाद पाठक, सोहन सिंहले छुट्टाछुट्टै पुनरावेदन गरेका थिए। यस्तै भेषराज चौलागाईको निवेदन र छविलाल बस्नेत र मनिष चौलागाईको हकमा साधकको रोहमा मुद्दा पनि सर्वोच्चमा विचाराधीन छ। यसले कर्तव्य ज्यानको मुद्दा अन्तिम किनारा भैसकेको मान्न मिल्ने अवस्था नरहेको सर्वोच्चको ठहर छ।

आदेशमा भनिएको छ, ‘एउटै मुद्दामा एकैपटक फैसला भएकाहरुमध्ये कसैको हकमा अन्तिम भएको र कसैको हकमा विचाराधीन रहेको मानेर खण्डीकरण गरिहेर्नु मनासिव हुँदैन। यस अदालतमा विचाराधीन रहेका हरि ओली समेतका प्रतिवादीहरुको पुनरावेदन किनारा नलागेसम्म उल्लिखित कर्तव्य ज्यान मुद्दा अन्तिम किनारा लागेको भनी सम्झन मिल्दैन। मुद्दा नै अन्तिम किनारा भैनसकेको अवस्थामा अदालतमा विचाराधीन रहेको मुद्दाका प्रतिवादीहरुका सम्बन्धमा सजाय माफी, मुलतवी, कट्टा वा कम गर्नेगरी निर्णय गर्न नमिल्ने भएकाले पनि विवादित निर्णय त्रुटिपूर्ण देखिन्छ।’

सर्वोच्चले उनलाई कैद मिनाहा नै गर्न नमिल्ने ठहर गर्दै निर्णय बदर गरेपछि रिगल पुनः पक्राउ परेका छन्। अव उनी २० वर्ष जेल बस्नुपर्छ। तर रिगलले ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तान गर्न बाँकी हुँदै छाडिएको थियो।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘रिगल ढकाललाई कर्तव्य ज्यान मुद्दामा सुरु बाँके जिल्ला अदालत र उच्च अदालत तुलसीपुर इजलासबाट भएको जन्म कैदको सजायमध्ये भुक्तान गर्न बाँकी कैद सजाय कट्टा गर्ने गरी भएका काम कारबाही, सम्मानित राष्ट्रपतिबाट भएको निर्णय र सो सम्बन्धी पत्राचारहरु समेत उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ।’

आदेशमा रिगललाई तत्काल पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा ठहर भएको जन्म कैदमध्ये असुल उपर गर्न बाँकी देखिएको ११ वर्ष ११ महिना ५ दिन कैद निजलाई कारागारमा राख्न परमादेश जारी गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट