चर्चित श्लोक वाचिका सरु गुरागाईँ क्यान्सर मुक्त, क्यान्सरका अवशेष बाँकी छैनः चिकित्सक

राजविराज– एक वर्षअघिदेखि थाइराइडको क्यान्सरबाट पीडित रहेकी चर्चित रामायण एवम् छन्द कविता वाचिका सरु गुरागाईं क्यान्सरमुक्त भएकी छन् । उनको सबै उपचार प्रक्रिया पूरा र सफल भएको श्रीमान मुरारी गुरागाईंले जानकारी दिएका हुन् ।

बसाई सरेर अमेरिकामै वस्दै आएकी सरुलाई एक वर्षअघि थर्ड स्टेजको क्यान्सर देखिएको थियो। हाडजोर्नी सम्बन्धी समस्याको उपचार गराइरहेको अवस्थामा क्यान्सर रोग देखिएको थियो। त्यस वेला उनको पछाडिको हड्डी भाँचिएको थियो। त्यसै वेला क्यान्सर समेत देखिएपछि उनको अमेरिकामै उपचार भएको हो ।

सुरुको चरणमा सर्जरीमार्फत घाँटी वरिपरि र थाइरोइडमा भएका क्यान्सरका टिस्यूहरु निकालिएको थियो । दोस्रो चरणमा अक्टोबरबाट रेडियसन पद्दतिबाट उपचार भएको मुरारीले जानकारी दिएका छन् । अन्तिम प्रक्रिया पनि पूरा भएको उनले जानकारी दिएका छन्।

‘करिब एक वर्ष लामो उपचारपछि आज तिमी क्यान्सर मुक्त भएकी छौ । रोगभन्दा यसको उपचार धेरै कठिन रहेछ’ उनले फेसवुकमा लेखेका छन्–‘आज यो सबै प्रक्रिया पूरा भएको छ । १० दिनको पूर्ण आइसोलेसन समाप्तिसँगै तिमी पूर्ण स्वस्थ भएकी छौ ।’

उपचारका असरहरु रहे पनि शरीरमा थाइरोइड क्यान्सरका कुनै पनि अवशेष बाँकी नरहेको चिकित्सकले बताएका छन् । सरुको उपचारका लागि ‘गो फन्ड मी’ बाट सहयोगको आह्वान गरेका थिए । पाँच दिनभित्रै ७७ लाख सहयोग संकलन भएको थियो । गो फन्ड मीबाट भएको सबै आम्दानी र उपचार खर्चको विवरण भने मुरारीले सार्वजनिक गरेका छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट