जुवाको खालबाट पक्राउ परेका पूर्वजर्नेलसहित ८ जनालाई प्रशासनमा ठिङ्ग्याउने तयारी

काठमाण्डौं– जुवाको खालबाट पक्राउ गरेका नेपाली सेनका पूर्वजर्नेल (पूर्वउपरथी) होम लावतीसहित ८ जनालाई शुक्रबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा उपस्थित गराउने प्रहरीले तयारी गरेको छ।

मंगलबार ललितपुर महानगरपालिका–१५ हात्तीवनस्थित क्लासिक टावर ब्लक ‘ए’ को १६ औं तलाबाट लावतीसहित ८ जना जुवाडे पक्राउ परेका थिए।

प्रहरीले विशेष सूचनाको आधारमा खालबाट झन्डै १७ लाख रुपैयाँसहित ८ जनालाई पक्राउ गरेको थियो। जसमध्ये सेनाका पूर्वउपरथि लावती पनि परेका थिए। अन्य भने व्यवसायीहरू हुन्।

उनीहरूलाई जरूरी पक्राउ पुर्जी दिएर प्रहरीले हिरासतमा राखेको छ। तिहारको सार्वजनिक बिदा भएकाले शुक्रबार उनीहरूलाई प्रशासनमा हाजिर गराउने तयारी छ।

प्रहरीले पक्राउ परेका अन्य व्यक्तिहरूको नाम सार्वजनिक गरेको छैन। तिहारको समयमा पक्राउ परेका उनीहरूलाई भाइ–टीका गर्न प्रहरीले सहजीकरण गरिदिएको थियो। अहिले उनीहरू हिरासतमा छन्।

प्रहरीका अनुसार लावतीले घरमै जुवा खेलाउने गरेका थिए। यस विषयमा प्रहरीलाई जानकारी भएको सुँईको पाएपछि उनले ठाउँ सारेर क्लासिक टावरमा जुवा खेलाउन थालेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट