सडकबाटै छिनोफानो गर्ने मनस्थितीमा छन् दुर्गा प्रसाई र महेश वस्नेत ?

राजविराज– विवादित मेडिकल ब्यवसायी दुर्गा प्रसाईँ र महेश बस्नेत कुनैबेला एउटै पार्टीमा रहेर राजनीति गरेका मान्छे हुन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र बस्नेत र प्रसाईँ ओलीको किचेनदेखि बेडसम्म नै पहुँच भएका मान्छे हुन् भन्दा फरक नपर्ला।

बस्नेत पहिल्यैदेखि ओलीका प्रिय हुन् भने प्रसाई माओवादी परित्याग गरेर एमाले प्रवेश गरेपछि ओलीका प्रिय बनेका हुन्। तर, राजनीतिक रुपमा प्रसाई ओलीसँग पछि जोडिएका भएपनि प्रसाईँका अनुसार ओलीसँगको पारिवारिक सम्बन्ध भने उनको पुरानो हो। त्यसैले होला प्रसाई ओलीलाई हजुरबा भनेर सम्बोधन गर्छन् । यता बस्नेत भने ओलीलाई बा भन्छन्।

ओलीलाई बा भन्ने बस्नेत र हजुरबा भन्ने प्रसाई केही समययता भने सार्वजनिक रुपमा शत्रुवत व्यवहार गरिरहेका छन्। प्रसाई अहिले व्यवस्था बिरोधी अभियानमा छन् भने बस्नेत व्यवस्थाको पक्षपाति।

प्रसाई ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको लगाएतका आरोप लगाइरहेका छन् भने बस्नेत प्रसाईको त्यो आरोपको प्रतिवाद गरिरहेका छन्। आरोप लगाउँने र प्रतिवाद गर्ने क्रममा एक अर्कामाथि यी दुई यसरी खनिएका छन् कि कुनै सिमा र मर्यादा सायद अब बाँकी छैन।

पछिल्लो पटक बस्नेत र प्रसाईका सडक कार्यक्रम हेर्दा लाग्छ, यी दुई साँच्चै सडकमै भिड्ने मनस्थितीमा छन् । कतिपयले त त्यो दिन प्रशासनले संयमता नअपनाए सडकमा नराम्रो परिस्थिती सृजना हुने भन्दै चिन्ता नै व्यक्त गरेका छन्।

यी दुईबीच सार्वजनिक कार्यक्रम, मिडिया र सोसल मिडियामा विष वमन चलिरहेको छ। प्रसाईँ र बस्नेतले एकअर्कालाई तल्लो स्तरको गालीगलौज गर्दै आएका छन्।

‘बृहत् नागरिक मुक्ति आन्दोलन’नाम दिइएको यो प्रदर्शनका लागि देशैभरबाट मानिसहरु काठमाडौंमा ओइरिने दाबी प्रसाईंले गरिरहेका छन्। त्यही दिन नेकपा (एमाले) को भ्रातृ संगठन युवा संघ नेपालले पनि प्रदर्शन गर्ने घोषणा गरेको छ। यसको नेतृत्व उनै महेश वस्नेतले गरेका छन्।

प्रसाई र बस्नेतको यो प्रदर्शन सुरक्षा निकायका लागि टाउको दुखाइ बनेको छ। सुरक्षा व्यवस्थालाई लिएर गृह प्रशासनले छलफल थालिसकेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार तीनवटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर देशको शान्ति सुरक्षाको बारेमा जानकारी लिएका थिए। मंसिर ७ को सुरक्षा तयारीको विषयमा पनि प्रधानमन्त्रीले चासो राखेका थिए।

सुरक्षा निकायले प्रसाईँको आन्दोलनसँगै युवा संघको कार्यक्रमले झडपको स्थिति ल्याउन सक्ने आकलन गरेको छ। युवा संघले गत असोज २२ गते कान्तिपथस्थित होटल एलो प्यागोडमा प्रसाईँमाथि कालो मोसो दलेपछि उनीहरुबीच दुष्मनी बढेको हो।

मोसो दलिएपछि केपी ओली जिन्दावाद र महेश बस्नेत जिन्दावादको नाराबाजी भएको थियो। त्यसपछि प्रसाईंले महेश बस्नेतको निर्देशनमा मोसो दलिएको दाबी गरे। घटनालगत्तै बस्नेतले फेसबुकमा लेखे, ‘बैंक तथा वित्तीय संस्थालाई चुनौती दिने, विभिन्न समुदायलाई देश निकाल्छु, मोसो दल्छु भन्ने आपराधिक कर्म गर्ने दुर्गा प्रसाईंलाई युवाहरूले तह लाएछन्। अब सुध्रिऊ, अरूलाई दोष नलगाऊ। यस्तालाई सरकारले कारबाही गरोस्। जन प्रतिरोध हुनु राम्रो होइन। युवा संघको तागत ननाप प्रसाईं।’

त्यसको केही दिनपछि झापाको एक कार्यक्रममा पुगेका बस्नेतको पार्किङ गरेर राखेको गाडीमा तोडफोड भएको थियो। त्यसपछि बस्नेत र प्रसाईँ सामाजिक सञ्जालमा एक अर्काप्रति आक्रामक देखिएका छन्। बिहीबार हुने दुई कार्यक्रमले थप झडप निम्त्याउने सुरक्षा निकायको विश्लेषण छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट