भीपीएनबाट टिकटक चलाउँदा चोरिएकै हो पुतलीमायाँको साढे २ लाख रुपैयाँ ?

काठमाडौं– सरकारले हालै प्रतिवन्ध लगाएको टिकटक चलाउन अहिले टिकटकरहरुले अनेक उपाय खोजिरहेका छन्। ति मध्येका केही विकल्प हुन फ्रि भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) र ओपन डीएनएस।

टिकटकको आइपी ठेगाना सरकारले ब्लक गराएपछि सो आइपी ठेगाना खोल्ने ‘चोरबाटो’ हो भीपीएन र ओपन डीएनएस । यी दुई एप्लिकेशन प्रयोग गरेर अहिले टिकटक चलाउन थालिएको छ।

मन्त्रिपरिषद्ले २७ कार्तिकमा टिकटकलाई प्रतिबन्ध लगाएपछि भीपीएन प्रयोगकर्तालाई तर्साउने काम पनि सुरु भएको छ। कतिपयले भीपीएन गर्दा बैंकको पैसा चोरी हुने भन्दै प्रचार गरिरहेका छन्। अहिले सामाजिक सञ्जालमा भीपीएनको प्रयोग गरेर प्रतिबन्धित टिकटक चलाउँदा ३२ वर्षीय पुतली माया थापा मगरले बैंकको २ लाख ५२ हजार रकम गुमाएको पोस्ट भाइरल छ ।

बेलकोटगढी नगरपालिकास्थित रातमाटे घर भएकी पुतली मायालाई श्रीमानले विदेशबाट पठाइदिएको नगद ह्याकरले बैंक खातामा पहुँच बनाएर चोरी गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सो पोस्टलाई सेयर गरिरहेका छन् ।

भाइरल पोष्टमा भनिएको छ, ‘नुवाकोट रातमाटे घर भएकी ३२ वर्षीय पुतली माया थापा मगरले भीपीएनबाट टिकटक चलाउँदा श्रीमानले विदेशबाट पठाएको उनको खातामा रहेको २ लाख ५२ हजार रुपैयाँ ह्याकरले ह्याक गरिदिएको छ, सावधान हुनुहोला प्लिज ।’

तर, पीडित भनिएकी पुतली मायाले अहिलेसम्म रकम हराएको बारेमा अनुसन्धान गर्ने निकायलाई खबर गरेकी छैनन् । बेलकोट गढी नगरपालिकास्थित रातमाटेमा बस्ने कसैले पनि अहिलेसम्म त्यसबारे जानकारी नगराएको नुवाकोटका एसपी सञ्जय सिंह थापाले बताए ।

पीडित काठमाडौँमा बस्ने भएमा नुवाकोटमा उजुरी पर्दैन । बैंक खाता ह्याक भएर रकम चोरी हुने घटनाबारे भोटाहिटीस्थित प्रहरीको साइबर ब्यूरोले अनुसन्धान गर्छ । प्रहरी प्रधान कार्यालयले पनि भीपीएनको प्रयोग असुरक्षित हुने भन्दै सूचना जारी गरेको छ। तर, पुतली मायाले साइबर ब्यूरोमा पनि सम्पर्क गरेकी छैनन् ।

टिकटक चलाउँदा बैंक खाता ह्याक भएर रकम चोरी भएको घटनाबारे जानकारी नभएको साइबर ब्यूरोका एसपी नरेन्द्र चन्दले रातोपाटीलाई बताए । पुतली मायाले रकम गुमाएको घटनाको सत्यता पुष्टि नभए पनि भर्चुअल प्राइभेट नेटवर्क ‘भीपीएन’ मार्फत टिकटक चलाउनु जोखिमपूर्ण हुने जानकारहरू बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट