रक्सीको नसामा पोर्चुगलमा एकजना नेपालीद्वारा अर्को नेपालीको छुरा हानेर हत्या

काठमाडौं– पोर्चुगलमा रक्सीको नसामा रहेका एक नेपाली युवकले आफनै साथीको छुरा हानी हत्या गरेका छन्।
स्याङजाको पुतलीबजार–१२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङको छुरा प्रहारबाट पर्वतको कुश्मा नगरपालिका–१३, खौलाका ३६ वर्षीय धनबहादुर क्षेत्रीको मृत्यु भएको हो।
छुरा प्रहारबाट गम्भीर घाइते भएका क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिए।
मृतक क्षेत्रीको शव परीक्षणका लागि सोही अस्पतालको शवगृहमा राखिएको र उनको मृत्युबारे निजका परिवारलाई जानकारी गराइएको खड्काले बताए।
पोर्चुगलको ओडिमिरास्थित बोआभिस्ता बस्दै आएका क्षेत्रीलाई सँगै वस्ने गुरुङले मङ्गलबार राति छुरा प्रहार गरेका थिए। मदिराले मातेका गुरुङले क्षेत्रीलाई छुरा प्रहार गरेको पोर्चुगलस्थित अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए।
छुरा प्रहार गरी फरार भएका गुरुङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। क्षेत्री र गुरुङ वैदेशिक रोजगारीका सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका हुन्। उनीहरु दुवै जना ओडिमिरास्थित एक कृषि कम्पनीमा कार्यरत थिए।