कांग्रेसमा अपराध संरक्षणको नमुनाः जेलमा रहेका खाँणलाई देउवाको सम्मान
बुटबल– राजनीतिले अपराध संरक्षण गरेको आरोप र जनगुनासो वढिरहेका बेला नेपाली कांग्रेसले त्यसलाई औपचारिक रुपमै पुष्टि गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई सम्मान गरेर सभापति शेरबहादुर देउवाले नै त्यस्को पुष्टि गरेका हुन।
कांग्रेसको लुम्बिनी प्रदेश समितिको प्रदेश सम्मेलनका क्रममा शनिबार खाँणलाई सम्मान गरिएको छ। खाँणलाई लुम्बिनी प्रदेशको अभिभावक भन्दै सम्मान गरिएको हो। पार्टीले दिएको सम्मान उनका भाई तथा रुपन्देही जिल्ला पार्टी सभापति रामकृष्ण खाँणले ग्रहण गरेका छन्। सम्मानपत्र लिन बालकृष्णका भाइ रामकृष्ण मञ्चमा गएका थिए ।
सम्मान पत्र ‘आदरणीय हाम्रा नेता, राजनीतिक रुपमा यस प्रदेशका अभिभावक, आर्थिक रुपमा राजनीतिक रुपमा जहिले पनि अभिभावकत्व निर्वाह गर्ने दाजु आज हाम्रा सामु हुनुहुन्न बालकृष्ण खाँणज्यू’ कार्यक्रम सञ्चालक कांग्रेसका लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले भने–‘उहाँको सम्मानपत्र ग्रहण गरिदिनुहुन उहाँका भाइ एवं यस जिल्लाका पार्टी सभापति रामकृष्ण खाँणज्यूलाई हार्दिक अनुरोध गर्दछु।’
कांग्रेस सभापति शेरबहादुर देउवाले खाँणलाई सम्मानपत्र प्रदान गरे भने केन्द्रीय सदस्य शेखर कोइरालाले रामकृष्ण खाँणलाई खादा ओढाए। मञ्चमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर पनि थिए।
यद्यपि खाँणलाई सम्मान गर्दा उनीहरु भने उठेनन्। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाँण २७ वैशाखमा पक्राउ परेका थिए। १ असारमा जिल्ला अदालत, काठमाडौंले खाँणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।
खाँणलाई कांग्रसले हालसम्म निलम्बन गरेको छैन। कांग्रेसभित्रै यसको विरोध भएको थियो। पुर्पक्षका लागि थुनामा गएपछि साउनमा बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापासहितका केही नेताले नै निलम्बनको माग गरेका थिए।
थुनामा पठाउने आदेशविरुद्ध खाँणले गरेको पुनरावेदन निवेदनमा शुक्रबार उच्च अदालत, पाटनमा संयुक्त इजलासका न्यायाधीशबीच राय बाझियो। अब तेस्रो न्यायाधीशको इजलासमा खाँणको मुद्दा जानेछ।
लोकप्रिय
ताजा अपडेट
टिकटकको विष मधेसमा विस्फोटः धनुषामा मस्जिद तोडफोडपछि वीरगञ्जमा उग्र प्रदर्शन, प्रहरी–प्रदर्शनकारी झडप

