ट्राफिक प्रहरीले यात्रुको बिलबुकभित्र हजारको नोट भेटेपछि…

काठमाडौं– सवारी चालक अनुमति पत्र (लाइसेन्स) को सट्टा हजारको नोट दिन खोज्ने एक ब्यक्ति प्रहरीको हिरासतमा पुगेका छन्।
ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पारेर लाईसेन्स बिनै स्कुटर चलाउ खोजेको आरोपमा प्रहरीले काभ्रेकै रोशी गाउँपालिका– ८ का ५९ वर्षीय सानुकान्छा तामाङलाई पक्राउ गरेको हो।
धुलिखेलबाट भकुण्डे जाँदै गरेको बा.प्र.०२–०३७ प ०९९७ नम्बरको तामाङको स्कुटरलाई धुलिखेल नगरपालिका–११ स्थित अस्थायी ट्राफिक पोष्ट काभ्रेभन्ज्याङमा संयुक्त चेकिङमा बसेका ट्राफिक प्रहरीले लाइसेन्स मागेका थिए।
त्यसपछि उनले ‘मेरो लाइसेन्स यही हो’ भन्दै पटक पटक बिलबुक दिए। बिलबुक भित्र एक हजारको नोट भेटिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
डिउटीमा खटिएका प्रहरी कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर चालक अनुमति पत्रबिनै स्कुटर चलाएको कारण उनलाई स्कुटरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।