घरमा गोली हानेर ठूलोबुबासँग १ करोड डिमान्ड गर्ने भतिजोसहित ३ जना पक्राउ
हेटौंडा– आफ्नै ठूलोबुबाको घरमा गोली प्रहार गरेर एक करोड रुपैयाँ माग्ने हेटौडा उपमहानगरपालिका ९ का निश्चल पौडेलसहित तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।
निश्चलको योजनामा गत १९ मंसिरमा हेटौंडा उपमहानगरपालिका–९ स्थित सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार गरिएको थियो। घट्नामा ३३ वर्षीय निश्चल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री संलग्न भएको प्रहरीले जनाएको छ।
उनीहरुले प्रहार गरेको गोली घरको भित्तामा लागेको थियो। गोली प्रहारपछि पक्राउ परेका अभियुक्तहरुले सूर्यप्रसादसँग एक करोड रुपैयाँ माग गरेका थिए । ‘यो गोली प्रहार संकेतमात्र हो, मागेको रकम दिएनौ भने जे पनि हुन सक्छ’ भनेर सूर्यप्रसादलाई मोबाइलमार्फत धम्की दिईएको थियो।
यो घट्नाको अनुशन्धानमा एसपी सिताराम रिजाल आफैं खटिएका थिए। तीन दिनपछि स्वचालित पेस्तोल र १९ थान गोलीसहित निश्चल पक्राउ परेका थिए। त्यसपछि गणेश र प्रितम पनि पक्राउ परेका हुन। हेटौंडा—४ मा डेरा लिएर बसेका उनी लागुऔषधको कारोबारमा समेत संलग्न रहेको प्रहरीले जनाएको छ।
पक्राअभियुक्तको साथबाट प्रहरीले २ वटा मोटरसाइकल, २ ग्राम चार सय मिलीग्राम खैरो हिरोइन, लागुऔषध तौल गर्ने तराजु, ५ थान मोबाइल र ५० हजार रुपैयाँ नगद बरामद गरेको छ। उनीहरुलाई ज्यान मार्ने उद्योग, लागुऔषध र हातहतियारसम्बन्धी मुद्दा चलाउने एसपी रिजालले वताए।