फेरी मन्त्री बन्न दिपक मनाङेको दौडधुपः माधव नेपाल फोन गर्छन, मुख्यमन्त्रीले टेर्दैनन्
पोखरा– गुण्डा नाईकेको पृष्ठभुमीबाट एकै पटक राजनीतिमा उदाएका राजीव गुरुङ अर्थात दीपक मनाङे फेरी मन्त्री बन्ने तयारीमा लागेका छन्। मनाङे मन्त्रीका लागि नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अघिपछि गरिरहेको स्रोतको भनाई छ।
मनाङ (ख) बाट निर्विरोध चुनाव जितेपछि एकीकृत समाजवादी प्रवेश गरेका उनी गत वैशाखमै मन्त्री बन्ने चर्चा थियो। तर, मन्त्रिपरिषद् विस्तार हुनेबेलामा उनको नाम लिष्टमा अटाएन। त्यसपछि उनी चुपचाप वसेका थिए।
पछिल्लो समय उनी फेरी दौडधुपमा छन। उनको जोडवल सुरु भएपछि नेकपा एसका अध्यक्ष नेपालले पनि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई निरन्तर दबाब दिइरहेका छन्। उनले भेटमा मात्र भभई फोनमा पनि मनाङेलाई मन्त्री बनाउन दबाब दिदै आएको स्रोतको भनाई छ।
गठबन्धन बन्दा नै नेकपा एस सबै प्रदेश सरकारमा सहभागी हुने र नीति तथा योजना आयोगको सदस्य पाउने सहमति भएको अध्यक्ष नेपालले शनिवार (२३ मंसिर) मात्रै खुलासा गरेका छन्। प्रदेश राजधानी पोखरा पुगेका उनले गण्डकीको मन्त्रिपरिषद विस्तार गर्दा नेकपा एसलाई सहभागि गराउने सहमति भएको तर, मुख्यमन्त्रीले त्यो सहमति कार्यान्वयन नगरेको वताए।
गठबन्धनको सदस्य हुँदै मन्त्री बन्ने लक्ष्य लिएर मनाङे गत वर्ष चुनावपछि १९ मंसिरमा नेकपा एसमा प्रवेश गरेका थिए। तर, त्यतिबेला माओवादी केन्द्रले एमालेलाई समर्थन गर्दा परिस्थिति फेरिएर उनी प्रतिपक्षमा पुगे।
गण्डकीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित सात वटा मन्त्रालय छन्। त्यसमा मुख्यमन्त्रीसहित कांग्रेसका ५ र माओवादी केन्द्रका २ जना मन्त्री छन्। मनाङेलाई मन्त्री बनाउन कांग्रेसका एक जना मन्त्रि फिर्ता बोलाउने वा मन्त्रालय फुटाउने दुई वटा विकल्प छन्। मुख्यमन्त्री पाण्डेको सचिवालयले सबै मन्त्रालय पूर्ण रहेकाले मन्त्री तत्काल थप नहुने बताएको छ।
यता, गण्डकी प्रदेशको योजना आयोगमा भने १६ असारमै अध्यक्ष नेपालकै गृहजिल्ला रौतहट माइती भएकी समाजशास्त्री अञ्चला चौधरी सदस्य नियुक्त भएकी छिन्। पोखरा–२१ कृष्ति घर भएकी चौधरीले पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय र पृथ्वीनारायण क्याम्पसमा समाजशास्त्र प्राध्यापन गरेकी हुन।