चितवनका दुई नेपालीलाई अपहरण गरेको आरोपमा ६ भारतीय पक्राउ

जनकपुर– चितवनका दुई नेपालीको अपहरण गरेको आरोपमा ६ जना भारतीय नागरिक पक्राउ परेका छन्।
चितवनको भरतपुरका कृष्ण थापा र रत्ननगरका दीपेन्द्र महतको अपहरण गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा भारतीय नागरिक राम नरेश कुमार, अकबर राइन, नइम अकतर, कौसर अली, सदाब सइम र ईरसाद शेख छन्।
जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी एलिजा गिरीका अनुसार पुस ५ गते थापा र महत मोटरसाइकलमा रौतहटको चन्द्रपुर जाने भनेर हिँडेका थिए। तर पुस ७ गते बेलुका एकाएक थापाले आफ्नो फेसबुक मेसेन्जरमार्फत श्रीमतीलाई कल गरे।
उनले आफूहरू अपहरणमा परेको र ६ लाख रुपैयाँ माग भएको भन्दै जानकारी गराएका थिए। सो सूचना प्रहरी कार्यालय भरतपुरका साथै जिल्ला प्रहरी कार्यालय बारामा पुगेको थियो।
त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले भारतीय प्रहरीको समन्वयमा पुस १० गते भारतको सितामढीबा थापा र महतलाई उद्वार गरेको थियो।
भारतीय प्रहरीले पीडितबाट अपहरण तथा शरीर बन्धक शीर्षकमा जाहेरी दरखास्त लिई थप अनुसन्धान कार्य अगाडि बढाएको बताएको छ।