अभिभावकले कानुन नमान्दा १३ वर्षिया बालिका र गर्भको वच्चालाई सजाय

राजविराज– विवाह गरेको ८ महिना र गर्भमा वच्चासमेत वसिसकेपछि अदालतले विवाह वदर गर्दा सप्तरीकी एक १३ वर्षिया बालिको अवस्था ‘घर न घाटको’ भएको छ।
गत २८ वैशाखमा बालिकाको विवाह सिरहा बरियारपट्टी–२ का १९ वर्षीय मिथलेस रायसँग भयो। विवाह रोक्न भन्दै सप्तरीको छिन्नमस्ता– १ बरहीका राधेश्याम रायले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिए।
उजुरीपछि मण्डपमा पुगेर प्रहरीले विवाह रोकेन, वरु साक्षी झै विवाहमा उपस्थित भएर फर्कियो। २० वर्ष उमेर पुगेपछि मात्रै विवाह गर्न पाइने कानुनी ब्यवस्था विपरित पारिवारको सहमतिमै धूमधामसाथ विवाह भयो।
त्यसपछि १ असारमा मात्रै प्रहरीले बेहुला मिथलेश, उनका बुवा जिलेश्वर, बालिकाकी आमा रेखादेवी, सानीआमा मीनादेवी र फुपाजु रविशंकर रायविरुद्ध बालविवाहको उजुरी दर्ता गरी अदालतमा २६ साउनमा मुद्दा लग्यो।
जिल्ला अदालत सप्तरीका न्यायाधीश हरिश्चन्द्र इङनामको इजलासले १८ पुसमा विवाद बदर गर्दै जबर्जस्ती विवाह गराएको भन्दै बालिकाकी आमा, विवाह गर्ने युवक र युवकका बुवालाई कैद सजायको फैसला गरेको छ। उनीहरुलाई साढे एक महिनाको कैद सजाय र जनही पाँच हजार रुपैयाँ जरिबानासमेत तोकिएको छ।
विवाह बदर भएपछि गर्भवती बालिका र गर्भमा रहेको शिशुको भरणपोषण र भविष्य अन्यौलमा परेको छ। अधिवक्ता मनु खनाल भन्छिन्– ‘बालविवाह बदर भएपछि गर्भवती बालिका र उसबाट जन्मिने सन्तानको बारेमा अव कस्ले सोचिदिने ?’
कानुन र संस्कारको चक्करमा बालिकाको जीवन अन्यौलग्रस्त भएको उनको भनाई छ। बालविवाहमा अदालतले बालिकालाई सजाय नगरेपनि जीवनमा सबैभन्दा बढी सजाय उनैले भोग्नुपर्ने अवस्था रहेको खनालले टिप्पणी गरिन।