एक महिनाको आफनै बच्चाका कारण पक्राउ परे विवादित तपस्वी बमजन

काठमाडौं– कुनै बेला बाराको रतनपुरी जंगलमा तपस्या गरेको भनेर चर्चा कमाएका र संसारभर ‘लिटिल बुद्ध’ का नामले चिनिएका रामबहादुर बमजन मंगलबार साँझ पक्राउ परे।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौंको बुढानिलकण्ठ–७ हात्तीगौंडामा रहेको घरमा छापा मारेर उनलाई पक्राउ गरेको हो। बम्जनका श्रीमती र छोराछोरी बुढानिलकण्ठमा बस्दै आएका थिए।

५ वर्षदेखि प्रहरीलाई चक्मा दिएर जोगिँदै आएका बम्जनलाई यस पटक भने प्रहरीले लगातार १८ दिन पछ्याएर पक्राउ गरेको हो। बमजन १ महिनाको आफ्नै बच्चाका कारण पक्राउ परेका हुन।

सुरक्षा स्रोतका अनुसार, प्रहरीले बम्जनकी श्रीमतीलाई ट्रयाक गरिरहेको थियो। एक महिनाअघि उनको बच्चा जन्मिएको थाहा पाएपछि प्रहरी आश्चर्यमा पर्यो। ५ वर्षदेखि वेपत्ता बमजनको घरमा बच्चा जन्मिनु प्रहरीको असफललाई पुष्टि गर्ने प्रमाण थियो।

त्यसैले प्रहरीले उनको खोजीलाई तीब्र पारेको थियो। बमजन कम्तिमा दुई महिनादेखि काठमाडौंमा बसिरहेको खुलेको छ। भाग्न सक्ने सम्भावना बलियो भएपछि प्रहरीले निरन्तर निगरानी गरेर उनलाई पक्राउ गरेको हो।

डीएसपी नेतृत्वको टोलीले निरन्तर पछ्याइरहेको सूचना बमजनकहाँ पनि पुगेको थियो। प्रहरीले पछ्याइरहेको शंका पाएपछि बमजन हात्तीगौँडास्थित घरबाट भाग्न तयारी अवस्थामा थिए।

तर, साँझ प्रहरीको टोली उनको घरभित्रै छिर्यो। प्रहरी छिरेको सुइँको पाएपछि उनी तीन तले घरको छतबाट हामफालेर भाग्ने तयारीमा थिए। प्रहरीले उनका सम्भावित भाग्ने गौडा पहिला नै घेरर वसेका कारण उनको प्रयास असफल भयो।

प्रारम्भिक सोधपुछमा उनले आफू कहिले सिन्धुली त कहिले मकवानपुरको जंगलमा बस्दै आएको बताएका छन्। पछिल्लो समय दुई महिनायता काठमाडौं आएको उनले बताएको एक अधिकृतले जानकारी दिए।

बम्जनले अनुयायी बेपत्ता पारेको भन्दै पहिलो पटक १२ पुस ०७५ मा जिल्ला प्रहरी कार्यालय, बारामा उजुरी परेको थियो। उजुरी पर्नुभन्दा ३ वर्षअघि बम्जनका विश्वास पात्र जसबहादुर वाइवाले जितपुर सिमरा–१८, बडहर्वाका ३४ वर्षीय सुरेशकुमार आले मगरलाई लिएर गएको परिवारका सदस्यहरुको भनाइ थियो।

त्यसयता उनी सम्पर्कविहीन रहेको परिवारले दाबी गरेको थियो। बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान वाइबालाई बेपत्ता पारेको अभियोग छ।

उनीहरु सबैलाई सिुन्धलीस्थित आश्रमबाट बेपत्ता बनाइएको प्रहरी अनुमान थियो। सर्लाहीस्थित आश्रममा बलात्कार भएको भन्दै उजुरी समेत परेको थियो। उजुरीपछि बेपत्तामध्ये सञ्चलालको हत्या भएको आशंका गरिएको सिन्धुपाल्चोकस्थित इन्द्रावती–६, बाँडेगाउँमा रहेको तोड्के जंगलमा प्रहरीले ०७६ पुसमा छापा मारेको थियो।

करिब ८० रोपनी क्षेत्रमा फैलिएको आश्रमको एक स्थानमा कमलो माटो भेटिएपछि उत्खनन् गर्दा ९ वटा नुनको प्याकेट पनि भेटिएको थियो, जुन शव गलाउन प्रयोग गरेको हुनसक्ने अनुमान थियो।

सीआईबीको टोलीले ३ असार ०७७ मा सिन्धुलीको कमलामाई नगरपालिका–९, पैरेस्थित बम्जनको आश्रममा छापा मारेको थियो। तर, प्रहरी खाली हात फर्किनु परेको थियो।

को हुन बमजन ?
बमजन आबद्ध संस्थाको वेबसाइट मैत्रीय डट इन्फोका अनुसार उनको जन्म सन् १९९० को अप्रिल १० तारिखमा बाराको रतनपुरमा भएको हो। उनका आमाबुबा किसान हुन। उनीहरुका ९ सन्तान मध्ये रामबहादुर साहिँला हुन्।

उनलाई गौतम बुद्धसँग तुलना गरिएको थियो। बुद्ध र बमजन दुवैका आमाको नाम मायादेवी हो। सोह्र वर्षको उमेरमा तपस्या गर्न सुरु गरेका बमजन पहिलो पटक १० महिना लामो ध्यान बसेकै बेला अचानक सम्पर्कविहीन भएका थिए।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट