४ जनालाई वेपत्ता पारेको आरोपपछि फरार भएका विवादित तपस्वी बम्जन पक्राउ

काठमाडौँ– आफनै आश्रमका अनिसहित ४ जनालाई वेपत्ता पारेको आरोप लागेका ‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ परेका छन्। केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले वम्जनलाई पक्राउ गरेको हो।

बम्जनको आश्रमबाट आनिसहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनलाई खोजी रहेको थियो।

बम्जनको सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका स्थित बाँडेगाउँ र सिन्धुलीको आश्रममा यसअघि छापा मारेको थियो। कुनै बेला ‘लिटिल बुद्ध’का नामले प्रचारित तपस्वी रामबहादुर बम्जन करिब पाँच वर्षदेखि बेपत्ता थिए।

४ असार २०७७ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली तालिम प्राप्त कुकुरसहित सिन्धुलीको आश्रम पुगेको थियो। तर, प्रहरी रित्तो हात फर्कियो।

बम्जनले सिन्धुलीको कमलामाई नगरपालिका– ८, पैरेनीस्थित २० रोपनीभन्दा बढी क्षेत्रफलभित्र सुविधासम्पन्न आश्रम बनाएका छन्। आश्रमभित्र उनले आफ्ना लागि छुट्टै दरबार समेत निर्माण गरेका थिए।

एक प्रहरी अधिकारीका अनुसार, उनले आफ्ना लागि आश्रमभित्र स्वीमिङ पूल, जिमखानादेखि अन्य धेरै निजी सुविधा सम्पन्न हल निर्माण गरेका थिए। आश्रमका चारै नाकामा उनले निजी सुरक्षा चेक पोस्टसमेत राखेका थिए।

उनी हराएपछि प्रहरीले उनको आश्रममा छापा मारेको थिएन। यद्यपि उनको खोजी भने जारी थिए। सीआईबीबाहेक सिन्धुली प्रहरी र सर्लाही प्रहरीसमेत उनको खोजीमा थिए। पछिल्लो समय आश्रममा पनि उनको ‘मुभमेन्ट’ नदेखिएको प्रहरीले बताउँदै आएको थियो।

बम्जनमाथि २० साउन ०७३ मा आश्रममा आएका तीन युवतीलाई बलात्कारपछि बेपत्ता पारेको आरोप छ। घट्नाको तीन वर्षपछि सर्लाही प्रहरीमा पीडितका परिवारले किटानी जाहेरी दिएका थिए। जाहेरीपछि पनि पक्राउ नपरेका बम्जनलाई जिल्ला अदालत सर्लाहीले हाजिर हुन भन्दै त्यहीबेला ३५ दिने म्यादसमेत दिएको थियो। तर, म्याद नाघ्दा पनि बम्जन अदालतमा हाजिर भएनन् ।

सर्लाही अदालतले २०७६ माघमा पहिलो पटक उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। प्रहरीले २१ असार २०७७ मा उनीविरुद्धको अनुसन्धान प्रतिवेदन सर्लाही जिल्ला वकिल कार्यालय हुँदै जिल्ला अदालतमा बुझाईसकेको छ।

प्रहरीले बम्जनका आश्रमहरुबाट यसअघि शब गलाउन प्रयोग गरिएका नुनका ढिकाहरू बरामद गरेको थियो। बम्जनबारे सुरुवाती चरणको अनुसन्धान गरेका सीआईबीका एक अधिकारीले भने बम्जनले सिन्धुलीको आश्रम अझै नछोडेको दाबी गरेको थिए।

पछिल्लो समय प्रहरीले बम्जनको निगरानी गर्न ड्रोन क्यामरा प्रयोग गरेको थियो। आश्रमको चारै कुना उनका सुराकी रहेको र प्रहरी जाँदा सूचना दिएर भाग्ने आशंका गरेको प्रहरीले उनको आश्रम नजिक समय–समयमा ड्रोन क्यामरा पठाउने गरेको थियो।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट