मधेशका मुख्यमन्त्री विरुद्ध जनमत पार्टीको नाराः साईकल चोरलाई कारवाही गर

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले एक वर्षको प्रगति विवरण सार्वजनिक गरिरहेका बेला सत्ता गठवन्धनकै एक घटक जनमत पार्टीका कार्यकर्ताले भने ‘साईकल चोरलाई कारवाही गर’ भन्दै विरोधमा नारावाजी गरेका छन्।

जनकपुरको महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रमा सरकारले स्वाभिमान दिवस तथा एक वर्षे कार्य विवरण सार्वजनिक कार्यक्रम आयोजना गरेको थियो। मुख्यमन्त्रीको कार्यक्रम स्थलमै जनमत पार्टीका कार्यकर्ताले ‘साइकल चोरलाई कारबाही गर, भ्रष्ट सरकार मुर्दावाद’ जस्ता नारा लगाएपछि कार्यक्रम नै विथोलिएको थियो।

जनमतका कार्यकर्ताले मधेस प्रदेश सरकारले भ्रष्टचारलाई प्रश्रय दिएको, विगतमा भएका साइकल प्रकरणको छानबिन नगरेको भन्दै होहल्ला गरे। त्यसपछि मुख्यमन्त्री यादवले आफ्नो कार्यकालमा साइकल काण्ड नभएको जवाफ दिएका थिए।

२९ पुसमा जसपाका सरोजकुमार यादवले मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका थिए। जनमत पनि सरकारमा सहभागि छ।

जनमत पार्टीका सचिव वीपि साहले आफनो पार्टीले भ्रष्टाचारको विरोध गरेको बताए। ‘हाम्रो पार्टी यस्तो पार्टी हो, आफ्नै नेता कार्यकर्ता वा मन्त्रीले नै भ्रष्टाचार गरे पनि तुरुन्त कारबाही गर्छौ’ उनले भने–‘मधेस र मधेसीको अधिकार भन्दा पनि सरकारले यसको मर्म विपरीतका गतिविधि गरिरहेको हुँदा विरोध जनाएका हौं।’

तत्कालिन मुख्यमन्त्री लालवावु राउतको समयमा प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रम सुरु गरेको थियो। जसमा विद्यालय जाने छात्रालाई साइकल बाँड्ने गरिएको छ। सो प्रकरण १० करोड भन्दा वढि अनियमितता भएको अख्तियारले जनाएको छ।

साईकल प्रकरणमा अत्यिारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधामका तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय जनकपुरका तत्कालीन प्रमुख भगवान झा, सहलेखापाल राजाराम मण्डल, भण्डार तथा जिन्सी शाखा प्रमुख रामस्वार्थ महतो, भण्डार शाखाका खरिदार जितमोहनकुमार दास, रेनु अग्रवाललगायत १० जना विरुद्ध मुद्दा हालेको थियो।

अख्तियारले मुद्दा चलाएपछि उक्त कार्यक्रम अहिले अलपत्र मात्र छैन, झण्डै ५ हजार साईकल अहिले गोदाममा सडिरहेका छन्। तेस्रो चरणको कार्यक्रम सञ्चालनका लागि असार ०७८ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १० हजार साइकल खरिद गरेको थियो। जसमध्ये झण्डै आधा साइकल अझैं वितरण हुन सकेका छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट