यिनै हुन छोरीको बलात्कार र छोराको हत्या गरेर फरार बुबा

सुर्खेत– छोरीलाई बलात्कार गरेपछि आफु विरुद्ध प्रहरीमा उजुरी दिने २१ वर्षिय छोराको हत्या गरेर फरार भएका सुर्खेतका ४५ वर्षिय एक ब्यक्ति पक्राउ परेका छन्। उनलाई बिहीबार बिहान साढे १० बजे कैलालीमा पक्राउ गरिएको हो।

सुर्खेतको पञ्चपुरी नगरपालिकास्थित आफ्नै घरनजिक गत मंगलबार राति २१ वर्षीय युवक हत्या गरिएको अवस्थामा फेला परेका थिए। युवकको शव सबैभन्दा पहिले उनकै बहिनीले देखेकी थिइन्। त्यसपछि उनले गाउँलेलाई खबर गरिन् र गाउँलेले इलाका प्रहरी कार्यालय बाबिया चौरमा खबर गरेका थिए।

राति नै प्रहरीको अनुसन्धान टोली त्यहाँ गएर अनुसन्धान सुरु गरेको थियो। कोहलपुरबाट तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीले अनुसन्धानको क्रममा घटनामा उनकै बुबा संलग्न रहेको प्रमाणहरू फेला पारेको थियो। बहिनीले पनि बुबाले नै दाजुको हत्या गरेको बताएकी थिइन्।

छोराको हत्यापछि घर अगाडिको बाख्राको खोर नजिकै सुकेको डाले घाँसले शव छोपेर बुबा फरार भएका थिए। खोजी गर्ने क्रममा प्रहरी टोलीले कैलालीको टीकारपुरस्थित साढुको घरमा लुकेर बसेका उनलाई भारततर्फ भाग्ने क्रममा बिहान साढे १० बजे पक्राउ गरेको हो।

स्थानीयका अनुसार बहिनीलाई बलात्कार गरेको आरोपमा ती युवकले आफ्नै बुबाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा १५ कात्तिकमा जाहेरी दिएका थिए। त्यही रिसमा उनले आफ्नै छोराको हत्या गरेको अनुमान गरिएको छ।

हालसम्म खुलेको घट्ना विवरण अनुसार भारतमा वस्दै आएका आरोपी गत असोजमा पश्चिम सुर्खेत स्थित घर आएका थिए। मामा घरमा बस्ने गरेकी किशोरीलाई उनले भेट्न घर बोलाएर सोही राती (२७ असोज)मा बलात्कार गरे। पीडित किशोरीले उक्त घटना आफ्नी कान्छी आमालाई सुनाइन्।

तर कान्छी आमाले यस्तो कुरा बाहिर भने बइज्जत हुने भनेर हप्काएपछि उनले आफ्ना दाइलाई सुनाइन्। यसपछि दाइले बहिनीलाई बलात्कार गरेको विषयमा बुबासँग कुरा गरे। त्यस क्रममा बुवाले उल्टै धम्की दिए।

यसपछि किशोरीका दाइले एक गैरसरकारी संस्थाको सहयोगमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुवाविरुद्ध जबर्जस्ती करणीको जाहेरी दिए। किशोरीले प्रहरीमा दर्ता गराएको जाहेरीमा भारतमा काम गर्ने आफ्ना बुवाले भेट्न बोलाएर जबर्जस्ती करणी गरेको आरोप लगाइएको छ।

प्रहरीले १६ कात्तिकमा सुर्खेतको प्रादेशीक अस्पतालमा किशोरीको स्वास्थ्य परीक्षण पनि गराएको थियो। रिपोर्टमा बलात्कार भएको पुष्टि भएको बताएको छ। ती किशोरीका बुवाले बहुविवाह गरेका छन्। उनीहरू दाजुभाइ जेठीपट्टिका हुन्। कान्छीबाट भने अहिलेसम्म कुनै पनि सन्तान नभएको स्थानीयले बताएका छन्।

मृतकका काकाले बुधबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कर्तव्य ज्यान सम्बन्धी जाहेरी दर्ता गराएका छन्।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट