एक वर्षमा लोकसेवाका ५ वटा परीक्षा पास गरेर भाईरल बनेकी मनिषा अव विवादमा

राजविराज– एक वर्षभित्र लोकसेवा आयोगले लिएका विभिन्न पदका ५ वटा परीक्षा पास गरेर भाईरल भएकी गुल्मीको धुर्कोट गाउँपालिका–३ हाडहाडेकी मनिषा जिसी (विष्णु घर्ती) विवादमा परेकी छिन्।
खास गरी एक महिनाको तयारीले लोकसेवाका सवै परीक्षा पास गरेको भन्दै दिएको अभिब्यक्तिले उनी विवादमा परेकी हुन। उनको अभिब्यक्तिसँगै सामाजिक सञ्जालमा आलोचनाको ओईरो लागेको छ। ‘एक महिना त लोकसेवाको पाठ्यक्रम पनि वुझ्न नसकिने’ भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको आलोचना गरिरहेका छन्।
यो आलोचनासँगै जिसीले विभिन्न कोचिङ सेन्टरहरुमा ४ वर्षसम्म लोकसेवा परीक्षाको तयारी गरेको पनि खुलेको छ। लोकसेवाका पुस्तक लेखन तथा तयारी कक्षाका प्रशिक्षक मित्रप्रसाद घिमिरेले मनिषलाई लक्षित गर्दै फेसवुकमा स्ट्याटस लेखेर यसको खुलासा गरेका हुन।
घिमिरेले मनिषाको नाम त उल्लेख गरेका छैनन, तर उनैलाई लक्षित गरिएको स्ट्याटसमा उनको अभिब्यक्तिले लोकसेवाको तयारी गरिरहेका युवाहरुलाई हतोत्साहित वनाएको आसय ब्यक्त गरिएको छ।
‘बजारको हल्ला’ भन्दै उनले फेसवुकमा लेखेका छन्–‘गफ पनि कति लगाउँछौ है, यति उति ठाउँमा नाम निकाले, सासै नफेरी पढे, किताबनै नहेरी पास गरे, कक्षा नलगि पनि पास गरे (जसले ४ वर्ष देखि कोचिङ् कक्षामा तयारी गरेको थियो मैले देखेको थिएँ), १ महिनामा पास गरे (जबकि १ महिनामा कोर्स बुझ्न पनि सकिन्न)।’
उनले अगाडि लेखेका छन्–‘आफूले पास नगरे पनि लोकसेवा यसरी लेख्न पर्छ त्यसै कहाँ पास भइन्छ, यस्ता भनाई सुन्दा विचरा धेरै समय मेहनत गर्दा पनि सफल हुन नसकेका साथिहरुको मनमा के कुरा खेल्दो होला है। अचम्म लाग्छ, उदेक लाग्छ, ताजचुव लाग्छ। कसैको व्यक्तिगत प्रतिष्ठामा आँच ल्याउन खोजेको हैन, धेरै साथीहरुले सर यो सम्भव छ र ? भनेको भएर आफ्नो पेजमा विचार मात्रै प्रकट गरेको व्यहोरा अनुरोध छ।’
घिमिरेको यो स्ट्याटसमा अधिकांश कमेन्ट मनिषाको आलोचना गरेर आएका छन्। मनिषाले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह उत्तीर्ण गरेकी हुन्।
‘सानैदेखि नर्सिङ विषय पढ्ने रहर थियो। छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरी करिब पाँच वर्ष करार सेवामा काम गरेँ’ भन्दै उनले एक महिना मात्र तयारी गरेर सवै परीक्षा उत्तीर्ण गरेको सञ्चार माद्यमहरुलाई वताएकी थिईन।