दलित केटासँग लभ गरेको भन्दै ‘शीर र धड’ अलग गरेर बुबाले नै गरे छोरीको हत्या

विरगञ्ज– दलित युवासँग प्रेम गरेको भन्दै बाराको फेटा गाउँपालिका १ त्रिवेणी टोलमा १५ वर्षिया किशोरीको उनकै बुबाले हत्या गरेका छन्। छोरीको हत्या गरेको आरोपमा बुबा हरिन्द्र महतोलाई प्रहरीले पक्राउ गरेको छ।

महतोले गत ११ साउनमा मामाघर रहेकी छोरी कोशिला कुमारीको हत्या गरी पर्साको जगरनाथपुर गाउँपालिका स्थित सुपौलिया पुल नजिकैको इमृतिया खोला किनारमा शव फालेको प्रहरीको आरोप छ।

कोशिलाको शव शीर र धड अलग भएको अवस्थामा १३ साउनमा मरामद भएको थियो। दुवै टुक्रा करिव ५० मिटरको दुरीमा थिए। शवको पहिचान हुन सकेको थिएन। करिब २० दिन अघि मात्रै शवको पहिचान खुलेको हो।

त्रिवेणीका स्थानीयले प्रहरीलाई महतोले आफ्नै छोरी बेपत्ता बनाएको जानकारी दिएका थिए। अनुसन्धान गर्दा पनि छोरीको हत्यामा महतो संलग्न भएको देखिएपछि प्रहरीले करिब साढे ५ महिनादेखि बेपत्ता छोरीको बारेमा सोधपुछ गरेको थियो।

सोधपुछ गर्दै जादा महतोले छोरीको हत्या गरेको स्वीकार गरेका थिए। कोशिलाको शव पहिचान भएपछि महतोलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी सुरेश काफ्लेले बताए। ‘शुरुमा छोरीलाई बेपत्ता बनाइएको बारेमा सोध्दा हरिन्द्रले छोरी हराएको जवाफ दिए’ काफ्लेले भने, ‘अनुसन्धान गर्दै जाँदा छोरीलाई घरबाट लगेर पर्सा जिल्लामा हत्या गरेर फालिएको पुष्टि भयो।’

प्रहरीका अनुसार गंगा साह माध्यमिक विद्यालयको कक्षा ८ मा पढ्दै गरेकी किशोरी स्थानीय कृष्ण बैठासँग प्रेम सम्बन्धमा थिईन। बैठा दलित भएकाले ऊसँग कुनै सम्बन्ध नराख्न परिवारले पटकपटक कोशिलालाई दबाब दिएको थियो। तर, छोरीले बैठासँगको सम्बन्ध छोडिनन्। विस्तारै कोशीला र वैठाको सम्वन्ध बारे गाउँमा हल्ला चल्यो। त्यसपछि महतोले छोरीलाई पर्साको विश्रामपुरमा रहेको मामा घर पठाएका थिए।

उनले २ जना सहयोगीसहित छोरीलाई मामाघरबाटै गाडीमा जंगल पुर्याए। त्यसपछि गाडीमै हत्या गरेर शवलाई खोला किनारमा फालेको उनले स्वीकारेका छन्। घट्नाको बारा प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ। थप कारवाहीका लागि महतोसहित घट्नाको फाईल पर्सा प्रहरीको जिम्मा लगाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट