ट्राफिक प्रहरीमाथि मोटरसाईकल यात्रीद्वारा प्रहरी कार्यालयभित्रै छुरा प्रहार
सर्लाही– सर्लाहीको नवलपुर स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयभित्रै एक ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार भएको छ। पुर्वपश्चिम राजमार्गमा पुर्वतर्फ जाँदै गरेको ना १९ प २५५५ नम्बरको मोटरसाईकलमा आएका ब्यक्तिले प्रहरी जवानमाथि छुरा प्रहार गरेका हुन।
छुरा प्रहारबाट महोत्तरीको गौशाला नगरपालिका–३ घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतो घाईते भएका छन्। उनलाई शुक्रबार बिहान रौतहट राजपुर–१ घर भएका यमामुद्दिन देमानले छुरा प्रहार गरेका हुन।
पुर्वपश्चिम राजमार्गमा चेकजाँच गरी जरिवाना रसिद काटेर भुक्तानी गर्न भनेर कार्यालय छिरेका महतोमाथि छुरा प्रहार भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका ट्राफिक प्रहरी इन्स्पेक्टर मदन थापाले जानकारी दिए।
प्रहरीलाई छोरा प्रहार गर्ने देमानलाई पक्राउ गरी लालबन्दी प्रहरीको हिरासतमा राखिएको छ। छुरा प्रहारबाट प्रहरी जवान महतोको निधार, घाँटी, हात र पेटमा चोट लागेको जनाईएको छ। उनलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात् थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगन्ज पठाइएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।