सहकारी ठगी प्रकरणमा रविविरुद्धको जाहेरी ‘लाप्चे मिलेन’ भन्दै प्रहरीले फिर्ता पठायो

पोखरा– सहकारी ठगी प्रकरणमा रास्वपका सभापति एवम् सांसद रवि लामिछानेविरूद्धको जाहेरी दर्ता गर्न प्रहरीले अस्विकार गरेको खुलेको छ। पोखराको सूर्यदर्शन सहकारीका पीडित वचतकर्ताहरु ९ माघमा जिल्ला प्रहरी कार्यालय कास्की पुगेका थिए।

लामिछानेसहित ८० जनाविरूद्ध जाहेरी दिन पुगेका उनीहरुको जाहेरी दर्ता गर्न प्रहरीले नमानेपछि उनीहरु त्यसै फर्किएको पाईएको छ। अनुसन्धान प्रतिवेदनका विषयमा महानगरले खटाएको सहकारी छानबिन विज्ञ सदस्य सिए अनिल लामिछानेसहित पीडित र कास्की प्रहरी प्रमुख मोहन थापाबीच छलफल भएको थियो।

छलफलपछि पनि जाहेरी लिएर जाँदा नमिलेको भन्दै फर्काइदिएको पीडित पक्षले बताएका छन्। प्रहरीले जाहेरी नमिलेको भन्दै फर्काइदिएपछि अर्को जाहेरी लेखेर कास्की प्रहरीको मुद्दाफाँटमा लगेको थियो। मुद्धा फाँटका प्रहरी अधिकारीले फेरि जाहेरी नमिलेको, जाहेरी पत्रका तलमाथि दुई अमल ठाउँ नछाडेको र ल्याप्चे लगाएको नमिलेको भन्दै फर्काइदिएको सूर्यदर्शन बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए।

यसरी तीन पटकसम्म जाहेरी लिएर गए पनि दर्ता नभएको उनले बताए। कास्की प्रहरी प्रमुख एसपी थापाले जाहेरीमा उल्लेखित व्यक्तिहरूको ठेगाना नखुलेकाले नलिएको बताए। सरकारी वकिलको कार्यालयले पनि थप अनुसन्धान गरी जाहेरी दिन माग गर्दा ढिलासुस्ती गरेको पीडितहरूको गुनासो छ। कास्कीका सरकारी वकिल कार्यालय प्रमुख गोपालप्रसाद ढकालले व्यस्तताका कारण केही दिन ढिला हुन पुगेको बताए।

अब पीडितहरूको जाहेरी हेर्ने र थप अनुसन्धान गरी अभियोग अघि बढाउने उनले बताए। सूर्यदर्शन सहकारी ठगीमा अदालतमा मुद्दा दर्ता गर्दा जिल्ला सरकारी वकिलको कार्यालयले १९ जनालाई मात्र अभियोग लगाएको छ।

महानगरले गरेको छानबिन प्रतिवेदनअनुसार सूर्यदर्शन सहकारीबाट ४ सय ३३ वटा खातामार्फत १ अर्ब ३१ करोड ५३ लाख ८२ हजार रूपैयाँ लगेको देखाएको छ। सहकारीमा १८ हजार ७ सय जनाले १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रूपैया बचत गरेको उल्लेख छ। महानगरले छानबिनका क्रममा सहकारीको सफ्टवेयरमार्फत् उक्त विवरण संकलन गरेको थियो।

सहकारीमा राखेको बचत फिर्ता नपाएको भन्दै १ हजार ३६ जनाले प्रहरीमा उजुरी दिएका थिए। उनीहरूले उजुरीमा उल्लेख बचत रकम कूल १ अर्ब ११ करोड रूपैयाँ रहेको उल्लेख गरेका छन्। सहकारीको सफ्टवेयरमा १ अर्ब ३५ करोड बढी अपचलन देखिए पनि उजुरीका आधारमा भन्दै १ अर्ब ११ करोड अपचलन मुद्दा लगाउनु पनि कमजोरी भएको पीडित पक्षले बताएका छन्।

पीडितले सहकारी ठगीमा लामिछानेको संलग्नता देखिएकोले अनुसन्धान गर्नुपर्ने माग गरेका छन्। सूर्यदर्शन सहकारीबाट ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न गैरकानुनी रूपमा पैसा लगेको र टेलिभिजनको प्रवन्ध निर्देशक लामिछाने भएकाले छानबिनको दायरामा ल्याउनुपर्ने उनीहरुको भनाई छ।

पीडित पक्षले पोखरा महानगरपालिका र कास्की प्रहरीले गरेको अनुसन्धान प्रतिवेदन दुवै अपुरो भएको बताउँदै अदालतमा दर्ता भइसकेको सहकारी ठगी मुद्दाको अनुसन्धान प्रतिवेदनमा असन्तुष्टि जनाएका छन्।

‘सहकारीबाट डेढ अर्ब रुपैयाँ अपचलन हुँदा व्यक्ति र कम्पनी गरी ४ सय जनाले पैसा लगेको देखिएकाले उनीहरू सबै छानबिनको दायरामा आउनुपर्छ। दोषी हुन् कि निर्दोष अदालतले फैसला गर्ने कुरा हो’ श्रेष्ठले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट