जेनजी आन्दोलनपछि चर्कियो सामाजिक विभाजनः दिपकराज गिरी माथि ज्योति मगरको तीखो व्यंग्य

काठमाडौँ— भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले देशको राजनीतिक, सामाजिक र सांस्कृतिक जग नै हल्लाइदिएको छ। आन्दोलनको आगो निभिसकेको छैन, तर त्यसको खरानीमाथि अहिले पनि सामाजिक सञ्जालमा चर्को बहस, आरोप र घृणाको लहर चलिरहेको छ।

कतिपयले यस आन्दोलनलाई ‘जनआवाजको विस्फोट’ भन्दै समर्थन जनाइरहेका छन् भने, अर्को पक्षले ‘अराजकता र बाह्य शक्तिको खेल’ भन्दै कडा विरोध गरिरहेको छ। आन्दोलनको पृष्ठभूमिमा अमेरिका, भारत र तिब्बती शरणार्थी नेता दलाई लामासम्मको नाम जोडिँदै गएको छ। यस्तै, मुलुकभित्रका राजनीतिक दल—माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाली कांग्रेसको शेखर–गगन समूह र काठमाडौंका मेयर बालेन्द्र साह (बालेन)सम्म आन्दोलनमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न रहेको दाबी गरिँदैछ।

तर अहिले चर्चाको केन्द्रमा छन् — कलाकार र फिल्म निर्माताहरू। जेनजी आन्दोलनका क्रममा निर्देशक निश्चल वस्नेत र कलाकार÷निर्देशक दिपकराज गिरी आन्दोलन स्थलमा देखिएको भिडियो र तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि उनीहरू चर्को आलोचनाको केन्द्र बनेका छन्।

फेसबुक र टिकटकमा उनका नाममा बनाइएका दर्जनौँ पोस्ट र मिम्सले उनीहरूलाई ‘राजनीतिक खेलको मोहरा’ भनेर आरोप लगाएका छन्। कतिपयले लेखेका छन् — ‘देशमा आगो लाग्दा कलाकारले दर्शक बनेर ताली पिटे, यो मनोरञ्जन होइन, राष्ट्रको अपमान हो।’

यही चौतर्फी आलोचनाबीच आइतबार बिहान दिपकराज गिरीले फेसबुकमा एक गहिरो, तर असन्तुष्टिपूर्ण स्ट्याटस लेखे। उनले लेखेका छन् — ‘मानौं नमानौं, आजकल अधिकांश समस्याको जड सामाजिक सञ्जाल नै भएको छ। बिहान उठेदेखि रातिसम्म क्रिया–प्रतिक्रिया, रिस–राग, नफरत (घृणा) सहित यति धेरै नकारात्मकता अपलोड गर्नुपर्छ कि हामी चाहेर पनि शान्त रहन सक्दैनौं… शुभ प्रभात।’

गिरीको यो स्ट्याटस सार्वजनिक भएको केही मिनेटमै दर्जनौँ प्रतिक्रियाहरू आए। — जसमा समर्थकभन्दा आलोचक हावी देखिए। गायिका ज्योति मगरले त सो स्ट्याटसमाथि खुलेआम व्यंग्य गर्दै लेखिन् — ‘शान्त त बस्ने नै होइन दाजी (दाजु), देशको झण्डा बोक्ने हो, अनि देशमा आगजनी गर्ने हो… भिड जता तेतै दौडिने हो… हामीलाई शान्ति चाहिँदैन, चर्चा चाहिन्छ।’

उनको यस टिप्पणीले सामाजिक सञ्जालमा नयाँ तरङ्ग थपेको छ। कतिपयले ज्योति मगरको व्यंग्यलाई ‘साहसी र यथार्थपरक’ भनेका छन् भने, अर्का पक्षले ‘कलाकारले कलाकारमाथिको आक्रोश पोखेको’ रुपमा टिप्पणी गरेका छन्।

अब जेनजी आन्दोलन केवल राजनीतिक आन्दोलन रहेन— यो अब सामाजिक विभाजन र घृणाको बहसमा बदलिएको छ। कलाकारदेखि मन्त्रीसम्म, नेतादेखि सर्वसाधारणसम्म, सबैको मनमा एउटै प्रश्न छ — ‘यो आन्दोलनले देशको आत्मा जगायो कि जलायो?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट