अपहरण मुद्दामा ९ वर्ष कैद सजाय पाएका फरार प्रतिवादी ५ वर्षपछि पक्राउ

राजविराज– अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद सजाय पाएका एक फरार अभियुक्तलाई प्रहरीले ५ वर्षपछि पक्राउ गरेको छ।

३० जेठ ०७५ देखि प्रहरीको फरार सूचिमा रहेका खड्क नगरपालिका–५ खोजपुरका ५० वर्षीय शुभनारायण ठाकुरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।

जिल्ला अदालत सप्तरीको ३० जेठ ०७५ को फैसलाले ठाकुरलाई ९ वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना भएको छ। फैसलापछि नै फरार रहेका उनलाई अस्थायी प्रहरी पोष्ट खरचुहियाले पक्राउ गरेको हो।

उनलाई फैसला कार्यान्यवनका लागि जिल्ला अदालत सप्तरीमा उपस्थित गराइएको सप्तरी प्रहरीका डिएसपी ढुण्डिराज नेउपानेले वताए।

यसअघि १८ वर्षीया बालिकालाई अपहरण गरी बेपत्ता बनाएको आरोपमा सिरहा नवराजपुर गाउँपालिका–१ तमसुइया सोठियाइनका ४४ वर्षीय अफजल रहमानलाई पनि प्रहरीले पक्राउ गरेको थियो। अफजल १७ माघ ०८० मा पक्राउ परेका थिए।

सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहाका २२ वर्षीय इजमामुल हक मियाँले ४ मंसिर ०८० मा घर अगाडिबाटै बालिका अपहरण गरी बेपत्ता बनाएको र हालसम्म फेला नपरेको भन्दै पीडितका बुबाले इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएका थिए।

गिरफ्तार अफजल इजमामुलका मामा हुन्। अपहरण गर्न मामा अफजल, इजमामुलकी आमा ४० वर्षीया स्नेहा खातुन र आरोपितका छिमेकीहरू सुरुङ्गा नगरपालिका–५ कुशहा ३८ वर्षीय हारुन भनिने मो. हनिफ, २१ वर्षीय मो. चाँद, मो. याकुब राइन, ४० वर्षीय अन्सारुल मियाँ, ४५ वर्षीय मो. कैयुम मियाँले सहयोग गरेको र घर अगाडिबाटै अपहरण गरी बेपत्ता बनाएको आरोप लागेको छ।

अन्य आरोपितहरू फरार छन्। उनीहरूको हकमा माघ ९ गते पक्राउ पुर्जी जारी भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट