बाँसबारी छाला जुत्ता कारखाना प्रकरणमा अरूण चौधरीसहित तीनै जना अस्पतालमुक्त !

काठमाडौं– बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरूण चौधरीसहित तीनै जनालाई सीआईबीले अस्पताल (हिरासत) मुक्त गरेको छ। उनीहरु तीनै जना हाजिर जमानीमा छुटेका हुन्।

सरकारी जग्गा निजी बनाएको आरोपमा गत विहिवार चौधरीसहित बाँसबारी जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र चाँदवाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुर पक्राउ परेका थिए। पक्राउ परेकै दिन चौधरी र थापा अस्पताल भर्ना भएका थिए।

तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक एवं व्यवसायी चौधरीसहित तीनै जनालाई सोमबार जिल्ला अदालत काठमाडौंले दुई दिन मात्रै हिरासतमा राख्न अनुमति दिएको थियो। न्यायाधीश यज्ञ आचार्यको इजलासले उनीहरूलाई २५ दिन हिरासतमा राख्नुपर्ने नदेखिएको भन्दै सोमबारदेखि लागू हुने गरी दुई दिन म्याद थपेको थियो। यो दुई दिनमा उनीहरूलाई गराउनुपर्ने कागज गराएर जमानीमा छोड्न भनेको थियो।

त्यसअनुसार बुधबार सरकारी वकिल कार्यालयमा हाजिर गराएर तीनै जनालाई छाडिएको हो। दुई दिनमा अनुसन्धान नसकिने भएकाले पनि प्रहरीले उनीहरूलाई हिरासतमुक्त गरेको हो। सिआइबीले तीन महिनाभन्दा बढी समय अनुसन्धान गरेर उक्त सरकारी जग्गा निजीकरण गरेको फेला पारेको भन्दै तीन जनालाई पक्राउ गरेको थियो।

बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडलाई प्राप्त भएको जग्गामध्ये १० रोपनी जग्गा लिएर त्यहाँ सिजी चाँदवाग रेजिडेन्सी बनाएको पाइएको सिआइबीले जनाएको छ। सिआइबीका एसएसपी दिनेश आचार्यले उक्त स्थानमा रहेको १० रोपनी मात्रै नभएर १८ रोपनी जग्गा नै निजीकरण गर्न खोजिएको बताएका थिए। जग्गा हडप्नका लागि बाँसबारीमा च्याम्पियन फुटवेयर लिमिटेड खडा गरिएको समेत सिआइबीले बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट