मानसिक अवस्था ठिक नभएको देखाउन नाङ्गै घुम्न थालेपछि बलात्कारका आरोपी कारागारमुक्त

महोत्तरी– महोत्तरीमा एक जना बलात्कारका आरोपी नाटकिय ढंगले जेलबाट छुटेर पीडित परिवारलाई धम्क्याउन थालेका छन्। बलात्कार आरोपमा पुर्पक्षका लागि कारागारमा रहेका मटिहानी नगरपालिका–३ का ३७ वर्षिय कैसर अली त्यहाँबाट छुटेर पीडित परिवारलाई धम्क्याउन थालेका हुन्।

२५ असोजमा गाउँकै महिलालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि कारागार चलान भएका उनी अनेक बहाना र आर्थिक चलखेलका कारण अदालतकै आदेशले धरौटीमा छुटेका हुन। पीडित महिलाका पतिले दिएको जानकारी अनुसार गाउँकै मदरसामा मुस्लिम समुदायका बालबालिका पढाउँने (मोलवी) उनले कारागारबाट छुटेपछि धम्की दिन थालेका छन्।

उनी ‘मानसिक सन्तुलन ठीक नरहेको’ नाटक गरेर थुनामुक्त भएको पाईएको छ। पीडित महिलाले जबरस्ती करणी मुद्दा जिल्ला प्रहरी कार्यालय जलेश्वरमा दर्ता गराएपछि उनी फरार भएका थिए। प्रहरीका अनुसार पीडितका पति सिटी रिक्सा चलाउँछन्। घटना भएको दिन रिक्सा लिएर उनी धनुषाको लोहना गएका थिए। राति घर नफर्किएपछि महिलाले पतिलाई फोन लगाईन। तर, झुक्किएर मोलवी कैसरलाई लाग्यो।

सोही फोन कलका कारण महिलाका पति घरमा नभएको उनले थाहा पाएका कैसरले राती ढोका तोडेर कुट्पिट गर्दै बलात्कार गरेको अनुशन्धानबाट खुलेको छ। भोलिपल्ट बिहान पति आएपछि उनले रातिको घटना सुनाईन। त्यसपछि उनीहरु प्रहरी समक्ष पुगे। यस विचमा उनीहरुलाई १० लिएर मिलापत्र गर्न गाउँमा निकै दबाब पर्यो।

तर, उनीहरुले हार नमानी कानुनी उपचार खोजे र प्रहरीले बलात्कारको मुद्दा चलायो। प्रहरीमा जाहेरी परेपछि तीन महिना बढी सम्पर्कविहीन बनेका कैसर १८ पुसमा प्रहरी कार्यालयमा हाजिर भएका थिए। प्रहरीले उनलाई अदालतमा पेश ग¥यो। अदालतले पुर्पक्षका लागि उनलाई थुनामा पठायो। तर, २२ दिनमै उनी छुटे। माघ १० गते अदालतले उनलाई एक लाख रुपैयाँ धरौटीमा छाडेको बुझिएको छ।

मानसिक सन्तुलन गुमेको नाटक गर्दै जेलमा नाङ्गै घुम्न थालेपछि अदालतले उनलाई उपचारका लागि धरौटीमा छाडेको जनाईएको छ। उनी प्रहरीमा हाजिर हुँदै योजनावद्ध रुपमा आएको र अहिले सोही योजना अनुसार कारागारमुक्त भएको पीडितका पति बताउँछन्। प्रहरीमा हाजिर भएपछि उनले आफु २ वर्ष अगाडि मोटरसाइकल दुर्घटनामा परेको, काठमाडौंको बाँसबारी स्थित उपेन्द्र देवकोटा मेमोरियल अस्पतालमा उपचार गराएपछि अवस्थामा सुधार भएको बताएका थिए।

डाक्टरको सल्लाहअनुसार अहिले पनि औषधि सेवन गर्दै आएको उनले बयान दिएको पाईएको छ। बयानपछि नै उनी कारागारमा नाङ्गै घुम्न थालेका थिए। पीडितका पतिले यो सवै नाटक भएको भन्दै कैसरलाई पुनः पक्राउ गर्न मागसहित उच्च अदालत जनकपुरमा रिट हालेका छन्। ‘घटनाको अघिलो दिनसम्म मदरसामा पढाएको र स्वस्थ्य रहेको मान्छेको मानसिक सन्तुलन एकाएक कसरी गुम्यो?’ पीडितका पति भन्छन्–‘यो सबै उनको नाटक हो। जेलमा पागल थियो भने बाहिर निस्किने वित्तिकै फेरी कसरी ठीक भयो?’

उनले अदालतमा रकमको चलखेल गरी नाटकीय ढंगले कैसर छुटेको दाबी गर्दै उनलाई पुनः पक्राउ गरी आफुहरुलाई न्याय र सुरक्षा दिनुपर्ने माग गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट